वीरता जेसीजले दियो बलात्कार र महिला हिंसाविरुद्ध झापामा आत्मरक्षा तालिम,१०० जना सहभागी
2018-09-28 / 2018-09-29     10:00:00am - 04:00:00pm    
Location : बिर्तामोड १ Organized By : JCI Birta


बलात्कार र महिला हिंसाविरुद्ध झापामा आत्मरक्षा तालिम,१०० जना सहभागी

बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन २८ र २९ सेप्टेम्वर अर्थात असोज १२ र १३ गते झापाको बिर्तामोडमा
बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिइएकोे छ ।
वीरता जेसीजको आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडको अतिथि सदनमा सम्पन्न भएको हो ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।
तालिममा झापाका १०० जनाको सहभागिता थियो ।
महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइएको छ ।
तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ ।
धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइँएको छ ।
आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको सहभागीले बताएका छन् । कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइएको बताइएको छ ।
तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ वरिष्ठ प्रशिक्षक मदन उप्रेती,सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि उपमेयर महतारा र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले बलात्कार र महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि आयोजित तालिम महत्वपूर्ण भएको बताए ।
वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तालिम संयोजक विकास बस्नेत, जेसीज आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौला र जेसीआई मिसन भिजन वाचन उपाध्यक्ष युवराज कुँवरले गरेका थिए ।
 तालिममा वीरता जेसीजसंग लेट्स रन नेपाल र सितोयिो कराते डो झापाले सहकार्य गरेका थिए ।

JCI Events Archive