काठमाडौं जेसीजको सप्ताह जारी, भूकम्पमा मृत्यु हुनेको सम्झनामा बसन्तपुरमा दीप प्रज्ज्वलन गरिने

2019-04-24

काठमाडौं जेसीजको सप्ताह जारी, भूकम्पमा मृत्यु हुनेको सम्झनामा बसन्तपुरमा दीप प्रज्ज्वलन गरिने


काठमाडौं । स्थापनाको स्वर्ण वर्ष मनाइरहेको काठमाडौं जेसीजको आयोजनामा ‘जेसीज सप्ताह २०७६’ अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बैशाख ६ गतेबाट सुरु भएको जेसीज सप्ताह बैशाख १२ सम्म सञ्चालन हुनेछ ।
सप्ताह अन्तर्गत बैशाख १२ गते विहीबार २०७२ साल बैशाख १२ गतेको भूकम्पमा दिवंगत भएकाहरुको स्मृतिमा ‘दीप प्रज्ज्वलन’ तथा कला प्रदर्शनी  कार्यक्रम राखिएको छ । कार्यक्रमको पहिलो सत्रमा भूकम्पपछि क्षतिग्रस्त भएका सम्पदाहरुको पुनर्निर्माणमा सरोकार राख्ने चित्रहरुको प्रदर्शनी हुने र दोस्रो चरणमा दीव प्रज्ज्वलन गरिने काठमाडौं जेसीजका कार्यकारी उपाध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए ।  

सप्ताहको पहिलो दिन बैशाख ६ गते छाला दानसम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । चाबहिलस्थित चासुमति मित्र समूहमा आयोजित कार्यक्रममा मृत्युपश्चात छाला दान गर्न सकिने र त्यसबाट छाला जलेका पीडितहरुलाई राहत पुग्नेतर्फबाट जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।

बैशाख ७ गते सप्ताहको दोस्रो दिन काठमाडौं जेसीजको सुविधानगर स्थित सचिवालयमा ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन भएको थियो । जहाँ सहभागिहरुलाई पछिल्लो पुस्ताका लागि अनिवार्य बनेको ‘डिजिटल लाइफ’ बारे प्रशिक्षण दिइएको थियो ।
बैशाख ८ गते जेसीज सप्ताह अन्तर्गत बानेश्वरस्थित के एण्ड के कलेजका विद्यार्थीहरुमाझ लागु औषध विरुद्धको जनचेतना कार्यक्रम गरिएको थियो ।  जेसीज सप्ताह अन्तगर्तको यो कार्यक्रममा बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिनुभएको थियो । काठमाडौं जेसीजका महासचिव अनुप सुनुवारले युवा विद्यार्थीमा दुव्यर्सनी बढ्दै गएको अवस्थामा जेसीले दुव्र्यसनी निर्मुल पार्न लागुऔषध विरुद्ध जनचेतना कार्यक्रम राखेको र कार्यक्रम फलदायी भएको बताए ।

बैशाख ९ गते काठमाडौं जेसीजको आयोजनामा पशुपतिनाथमा रक्तदान कार्यक्रम आयोजना गरियो भने बैशाख १० गते महिलाहरुका लागि आत्मसुरक्षा तालिम आयोजना गरिएको थियो । पकनाजोलस्थित युवक माविमा गरिएको तालिममा सहभागि महिलाहरुलाई आत्मसुरक्षाको सीपहरु सिकाइएको थियो । काठमाडौं जेसीजकी कोषाध्यक्ष एन्जिला खड्काले महिलाहरुलाई हिंसाविरुद्ध लड्न आवश्यक आत्मसुरक्षा तालिमले सहभागिहरुको मनोबल बढेको बताइन् ।

काठमाडौं जेसीजका अध्यक्ष भुवनकुमार श्रेष्ठले जेसीज अभियानमा लागेकाहरुका लागि जेसीज सप्ताह महत्वपुर्ण रहेको र सहभागिता पनि उल्लेखनीय भएको बताए । ‘स्वर्ण वर्ष भएकोले पनि यसपटक जेसीज सप्ताहमा हाम्रो क्रियाशीलता र सहभागिता सकरात्मक रहेको छ । यसले जेसीजलाई थप सामाजिक कामहरु गर्न प्रेरित गरेको छ ।’, अध्यक्ष श्रेष्ठले भने । स्वर्ण वर्षभरी नै जेसीजले अन्य धेरै सामाजिक कामहरु गर्ने श्रेष्ठले जानकारी दिए ।
 



JCI News Archive