Corona Virus (COVID-19) Awareness Program

2020-03-07

कोरोना संक्रमणको सतर्कता बारे अन्तक्रिया

दाङ, फागुन २४ । कोरोना भाईरसको संक्रमण बढ्दै गैरहेको अवस्थामा दाङको त्रिभुवननगर जेसीजले पुर्वसतर्कताको विषयमा छलफल गरेको छ । जिल्लाका विभिन्न सरोकारवाला निकायहरुको प्रतिनिधित्व गराएर यो संक्रमणबाट कसरी जोगिने र अरुलाई पनि कसरी बँच्न सिकाउने भन्ने विषयमा छलफल गरेको अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रममा दुई जना डाक्टरहरुले कोरोना भाईरस, संक्रमणको अवस्था र यसबाट बँच्नका लागि अपनाउन सकिने विषयहरुमा जानकारी दिनुभएको थियो । डा. प्रकाश सुवेदीले विश्वका करिव ८० देशमा फैलिएको यो संक्रमणबाट १ देखि ३ प्रतिशत मात्र ब्यक्तिहरुको मृत्यु हुने गरेको बताउनुभयो । विगतका वर्षहरुमा यो भन्दा पनि बढि खतरनाक भाईरसको संक्रमण भएको उहाँले जानकारी दिनुभयो । यस्तै डा. मिनचन्द्र अधिकारीले पनि नेपालीहरुले सुरक्षित रहने उपायहरुमा सचेत रहे जोगिन सक्ने जानकारी दिनुभयो । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले अहिले जिल्लाका विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड स्थापना गर्नको लागि जानकारी दिएको, केहि नाका क्षेत्रमा हेल्प डेस्कहरु स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि अपनाउन सकिने सम्पुर्ण सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । जिल्लाका सम्पुर्ण स्वास्थ्य संघसंस्थाहरुलाई सतर्क र पुर्ण तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । 

त्रिभुवननगर जेसीजका अध्यक्ष माधव पौडेलको अध्यक्षता तथा मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले कोरोना भाईरसको संक्रमणको सतर्कता र त्रासलाई कम गराउनका लागि भुमिका खेल्न आग्रह गरे । कार्यक्रमको सहजीकरण महासचिव मिनराज भाटले गर्नुभएको थियो ।

JCI News Archive