धादिङ जेसीजद्धारा धुनिबेशी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण

2020-04-09

चैत्र २७, धादिङ । कोरोना भाईरसको संक्रमण तथा त्यसबाट बच्न नेपाल सरकारले घोषणा गरेको बन्दा बन्दीका कारण समस्यामा रहेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय बर्गहरुलाई छाक टार्न सहयोग पुगोस् भनेर मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ स्थापित धादिङ जेसीजले बिपत ब्यवस्थापन समिति, धुनिबेशी नगरपालिकालाई राहत सामग्रीहरु हस्तान्तरण गरेकोे छ ।

संस्थाका अध्यक्ष जेसी प्रितम त्रिपाठी तथा पुर्व अध्यक्षद्वय जेसी प्रमोद पाठक र जेसी शदिप बिक्रम शाहले ३० किलो दरको ३० बोरा चामल, २५ किलो दरको ४ बोरा मुसुरोको दाल, १० लिटर दरको ६ बाकस सोयाबिनको तेल, ६० पाकेट नुन, ५० किलो दरको २ बोरा चिनी र लाईफ ब्वाय साबुन १ बाकस बिपत ब्यबस्थापन समितिका संयोजक तथा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य मार्फत हस्तान्तरण गरेको हो।

कोरोना भाईरसको संक्रमण तथा त्यसबाट बच्न नेपाल सरकारले घोषणा गरेको बन्दा बन्दीका कारण समस्यामा रहेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय बर्गहरुलाई दैनिक छाक टार्न सहयोग पुर्याउने उदेश्यले राहत सामग्रीहरु हस्तान्तरण गरेको संस्थाका पुर्वअध्यक्ष जेसी शदिप बिक्रम शाहले बताउनुभयो ।

सो अवसरमा बोल्दै धादिङ जेसीजका अध्यक्ष जेसी प्रितम त्रिपाठीले बिपतका घडीमा अप्ठेरोमा परेका समुदायलाई सहयोग गर्न पाउदा गौरबको अनुभुती भएको बताउनुभयो।

उक्त अवसरमा बोल्दै धादिङ जेसीजका अर्का पुर्वअध्यक्ष जेसी प्रमोद पाठकले बिपतको समयमा स्थानीय सरकार संग हातेमालो गर्न धादिङ जेसीज सदैव तत्पर रहने बताउनु भयो साथै संस्थाका सल्लाहकार जेसी दिवश भट्टले हाल कोरोना भाईरससंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पुर्ण स्वास्थ्यकर्मीहरु, आपतकालीन व्यवस्थामा खटिरहेका सुरक्षाकर्मीहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म संयमित भई बस्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो।

सो अवसरमा धुनिबेशी नगरपालिकाका उपप्रमुख निरु खरेलले विपत्तिका बेलामा समस्यामा रहेका असहाय बर्गहरुलाई सहयोग गरेकामा धादिङ जेसीज परिवारलाई हृदय देखि नै आभार प्रकट गर्नुभयो भने धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले विपत्तिका बेलामा समेत सहयोगका नाममा असहाय वर्गलाई उपयोग गरी समाजमा प्रचारात्मक अभियान चलाउनेहरुको लागि धादिङ जेसीजको यो कदम शिक्षाको रुपमा रहेको बताउनुभयो।

धादिङ जेसीजले उक्त राहत सामाग्रीहरु आफ्ना सदस्यहरुको आन्तरिक सहयोग मार्फत संकलन गरेको जानकारी महासचिब जेसी त्रिलोक कार्कीले गराउनुभयो।


JCI News Archive