वीरता जेसीजको गतिविधिःदुर्घटना न्यून गर्न १५०० गाडीमा स्टिकर, पर्चा वितरण र चालकलाई चकलेट

2018-10-13

दुर्घटना न्यून गर्न १५०० गाडीमा स्टिकर, पर्चा वितरण र चालकलाई चकलेट

१३ अटोबर अर्थात असोज २७ गते शनिबार झापाको बिर्तामोडमा चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन विशेष अभियान सञ्चालन गरियो ।
वीरता जेसीजको आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत सवारीसाधनमा चेतनामुलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई चकलेट दिइएको थियो ।
झापाबाट काठमाडौं लगायतका लामो दुरीतर्फ जाने–आउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको बताइएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीका अनुसार पाँच सय सवारीसाधनमा स्टिकर टाँस्नुका साथै चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट प्रदान गरिएको र ती सवारीसाधनमा यात्रा गर्ने सबै यात्रुलाई ट्राफिक नियम सम्बन्धीका चेतनामुलक पर्चा वितरण गरिएको छ । पैदल यात्रीलाई समेत पर्चा वितरण गरिएको थियो ।
वीरता जेसीजका अध्यक्ष गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई र लेट्स रनका अध्यक्ष पवन शिवाकोटीले सवारीसाधनमा स्टिकर टाँसेर उक्त अभियान शुरु गरेको वीरता जेसीजका महासचिव विनोद पाण्डेले जानकारी दिए ।
वीरता जेसीजका दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठका अनुसार बिर्तामोडको पश्चिम स्टेण्डमा दुबैतर्फबाट आवात–जावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको थियो ।
उक्त अभियानमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, पूर्व अध्यक्षहरु सुरेश वंशल, राजेन्द्र थापा, शेखर ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, लेट्स रन नेपाल झापा,देवी पञ्चकन्या मर्निङ वाक गु्रप बिर्तामोड, एजुकेशन एण्ड माइग्रेसन कर्नर लगायतको सहभागिता रहेको वीरता जेसीजका दुर्घटना न्यूनीकरण सहसंयोजक मनोज रौनियारले बताए ।
त्यस्तै उक्त कार्यमा बिर्तामोड सरसफाई अभियान टोलीले समेत सहभागिता जनाउँदै सरसफाई कार्यलाई पनि बिर्तामोड पश्चिम स्टेण्डमा केन्द्रित गरेको थियो । चालकहरुलाई वितरण गरिएको चकलेट हल्दिबारी चियाको तर्फबाट प्रदान गरिएको थियो ।
यसअघि गत असोज २ गते वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो ।


JCI News Archive