बुटवल जेसीजको आव्हान : शान्ति सम्भव छ आउनुस शान्तिको लागि सहकार्य गरौ

2019-03-17

बुटवल  । बुटवल जेसीजले शान्तिको लागि सहकार्य कार्यक्रम सम्पन्न गरेको छ । शान्ती संम्भव छ भन्ने मुलनाराका साथ सरोकारवाला निकायहरु विच सहकार्यको लागि आयोजना गरिएको कार्यक्रममा प्रदेश पाँच आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले द्वन्द्वरत पक्षलाई आफ्नो स्टेप बिग्रिँदा कहाँ पुगिन्छ भेन्ने हेक्का राख्न आग्रह गर्नुभएको छ ।

 
सरकारले आफ्नो स्टेपको हिसाव गरेरै प्रतिवन्धको निर्णय गरेको बताउँदै उहाँले मुलुकको शान्ति र समृद्धिका पहल गर्दा स्यावासी पाउनु पर्नेमा आलोचना हुनु राम्रो नभएको पनि बताउनु भयो । ‘द्वन्द्वरत पक्षले आफूले चालेको स्टेप बिग्रिदा कहाँ पुगिन्छ भन्ने पनि हिसाव गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘सरकारले आफ्नो स्टेपको हिसाव गरेर निर्णय गरेको छ ।’
बुटवल जेसीजले शनिबार बुटवलमा आयोजना गरेको ‘शान्तिकालागि सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री केसीले स्थिर शान्तिकालागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यो पुरा हुँदा पनि असहमती बाँकी रहने उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वको कहाली लाग्दो दिनबाट यहाँसम्म आएको स्मरण गर्दै सकारात्मक शोंच सहित अंगाडी बढेमा शान्तिको यात्रा लामो नभएको उल्लेख गर्नुभयो ।


शान्तिकालागि बिकास र समृद्धि आवश्यक रहेको बताउँदै उहाँले बिकास र समृद्धिकालागि प्रदेश सरकारले कृषिको व्यबसायिक बिकास, कृषिमा आधारित औद्योगिकिकरण र त्यसैका माध्यमबाट पर्यटन बिकासको दीर्घकालिन योजना बनाएको बताउनु भयो । मन्त्री केसीले प्रदेश सरकारले प्रदेशलाई के र कस्तो बनाउने भन्ने विषयमा केही दिनमा रोडम्याप ल्याउन लागेको जानकारी गराउनु भयो ।


त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले सरकारले ल्याएको नारा ‘समृद्ध नेपाल खुसी नेपाली’ शान्तिको आधार भएको बताउँदै नारालाई सार्थक बनाउनकालागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारले बनाउनु पर्ने कानुन नबनाउँदै स्थानीय सरकारलाई कानुन निर्माणमा समस्या भएको बताउँदै कर्मचारी समायोज नहुँदा पनि काममा बाधा पुगेको उल्लेख गर्नुभयो ।


नेपाल जेसीजका उपाध्यक्ष अर्जुन अधिकारीले शान्ति कायम गर्न र हिंसा न्यूनिकरणकालागि नेपाल जेसीजले पहिलेदेखि नै अभियान सञ्चालन गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार भवानीप्रसाद पाण्डेले युवा, द्वन्द्व र शान्ति आपसमा जोडिएको उल्लेख गर्दै विभिन्न देशका उदाहरण सहित युवालाई शान्तिमा जोड्न सकिने बताउनु भयो । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवाको संख्या रहेको बताउँदै उहाँले १६ देखि ४० वर्ष उमेर समुहका १ करोड ६ लाख युवा मध्ये ४० लाख युवा अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेश पलायन भएको तथ्यांक प्रस्तुत गर्नुभयो । 


रोजगारीकालागि बिदेश पलायन हुने युवाको संख्या घटेको भएपनि रेमिट्न्स बढेको बताउँदै उहाँले मुलुकको स्थायी शान्तिकालागि युवालाई स्देशमै काम गर्ने वातावरण बनाउनु पर्ने र त्यहिबाट समृद्धि प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे, नेकपा रुपन्देहीका नेता यज्ञ गैरे नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी लगायत सुरक्षा निकायका अधिकारीहरु, र ब्यवशायीक क्षेत्रका अगुवाहरुले सहकार्य र वार्ताको माध्यमबाट शान्ति स्थापना गर्न सकिने बताउनु भएको थियो नेपाल जेसीजका पुर्व अध्यक्ष द्धय अनुपमान सैजु र जगत बहादुर पोखरेलले शान्ती स्थापनामा जेसीजले खेलेको भूमिका बारे प्रष्ट पार्नु भएको थियो ।
त्यस अवसरमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले शान्तिकालागि युवाहरुको भूमिकाका बिषयमा प्रवचन गर्नुभएको थियो । कार्यक्रममा १५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । 


बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले मुलुकमा दिगो शान्ति सम्भव छ र शान्ति र समृद्धिकालागि आफ्नो ठाउँबाट थोरै भएपनि योगदान दिन सकियोस भन्ने उद्देश्यले अभियानको थालनी गरिएको बताउनु भयो । कार्यक्रम बुटवल जेसीजका महासचिव राजिव गौतमको सञ्चालनमा भएको थियो । उक्त कार्यक्रममा संयोजक उत्तम पोख्रेलले आस्था पाठ गर्नु भएको थियो । श्रीनगर अनलाईन मिडियाको सहयोगमा विभिन्न भिडियोहरु प्रस्तुत गरी कार्यक्रमलाई प्रविधी मैत्री बनाइएको थियो ।


JCI News Archive