वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिका वडा नं.–७ को एकीकृत नमूना बस्तीलाई जेसीज गाउँ घोषणा गरेको छ ।
सहारा नेपालको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका र ह्याविट्याट फर ह्युम्यानिटी नेपालले बिर्तामोड–७ हर्चनाका ३७ विपन्न परिवारलाई घर निर्माण गरिदिएर एकीकृत नमूना बस्ती बसालेको हो । उक्त एकीकृत नमूना बस्तीका बासिन्दाको जीवनस्तर उकास्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले एकीकृत नमूना बस्तीलाई जेसीज गाउँ घोषणा गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् । एकीकृत नमूना बस्तीका सम्पूर्ण बालबालिकालाई नियमित विद्यालय जाने वातावरणको निर्माण गर्ने, महिलाहरुलाई लघु उद्यम व्यवसायमा सहभागी गराई आत्मनिर्भर बनाएर आर्थिक क्षेत्रलाई उत्थान गर्ने लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिनोद बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानूनी सल्लाहकार तथा कार्यक्रम संयोजक हिमा पौड्यालले स्वागत गरेकी थिइन् ।
वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम सहसंयोजक निशा शाक्यले आस्था वाचन र तालिम संयोजक श्रेयसी चौधरीले जेसीआइ मिसन भिजन वाचन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमार सिंह सावा, नेपाल जेसीजका दिगो विकास लक्ष्य कार्यक्रमका कोअर्डिनेटर उत्तम पकुवाल, वीरता जेसीजका अध्यक्ष प्रविण खड्का, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष पार्वता खरेल विमली, नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, बिर्तामोड नगरपालिका वडा नं.–७ की वडाध्यक्ष चन्द्रकला पकवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।