बर्दघाट जेसीजको आयोजनामा संसदिय बैठक प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

2022-07-05

बर्दघाट नगरपालिकाका कार्यपालीका सदस्य र बर्दघाट जेसीजका बोर्ड मेम्बरहरु सहितको संसदिय बैठक प्रणाली तथा जनप्रतिनिधीको काम कर्तब्य र अधिकार विषयक दुई दिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।

जेसीआई सिनेटर राजा बाबु साह प्रमुख प्रशिक्षक रहेको उक्त कार्यक्रममा जतप्रतिनिधीको काम कर्तब्य र अधिकारको विषयमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले सहजिकरण गर्नुभएको थियो भने संविधान र ऐन अन्तर्गत रहेर बरिष्ठ अधिवक्ता सुदर्शन पन्तले सहजिकरण गर्नुभएको थियो । विश्वका आधा भन्दा बढि मुलुकमा र नेपालको संघिय संसदमा समेत अभ्यास हुँदै आएको रोबर्ट रुल्स अफ अर्डर अनुसार बसिने बैठकले बहुमतको निर्णयलाई स्विकार गर्दै अल्पमतलाई सम्मान गर्ने भएकाले पनि पालिकाहरुमा यो बिधिको बैठक आवश्यक रहेको प्रमुख प्रशिक्षक साहले बताउनुभयो ।


दुई दिन सम्म चलेको कार्यशालामा बर्दघाट नगरपालीकाका २६ जना कार्यपालीका सदस्य र बर्दघाट जेसीजका बोर्ड सदस्यहरु सहभागी भएका थिए । नगरपालीकाका जनप्रतिनिधीहरुलाई अति आवश्यक तालिम नगरपालिकालेनै सञ्चालन गर्नुपर्नेमा बर्दघाट जेसीजले आयोजना गरेर कार्यपालीका सदस्यहरुलाई तालीम प्रदान गरेकोमा अत्यन्तै खुसी भएको उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । ८ ओटा सेसनमा बाँडेर सञ्चालन गरिएको उक्त तालिमले अबका बैठक प्रणाली र जनप्रतिनिधीले गर्ने जनतामुखी कार्यहरुमा छाटो समयमा धेरै परिणाम निकाल्न सक्नेकुरामा ढुक्क रहेको विशेष अतिथी तथा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायको भनाई थियो ।


सक्रिय युवाहरुको साझा संस्था भएकाले पनि नगरपालिकाका जनप्रतिनिधी अर्थात नगरकै अभिभावकहरुलाई काम गर्ने तरीकामा परिवर्तन गर्न खोजेको र आवश्यक हरेक भुमिकामा रचनात्मक सहयोग गर्न तयार रहेको बर्दघाट जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी दिनेश न्यौपानेले बताउनु भएको थियो ।


सहभागीहरु मध्यबाट बोल्ने क्रममा यस तालिमले जनप्रतिनिधिहरुको काम गर्ने जोश जाँगर थप भएको बर्दघाट नगरपालीका वडा नं. १६ को वर्डाअध्यक्ष भिमकाजी गुरुङ्गले बताउनुभयो ।

तालिम अवधिमा रोबर्ट रुल्स अफ अर्डरको नियममा रही प्रयोगात्मक बैठक पनि बसेको थियो । बर्दघाट जेसीजको आयोजना तथा बर्दघाट नगरपालीकाको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यक्रम संयोजक जेसी युवराज चापागाईको व्यवश्थापनमा सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता वर्ष २०२२ का अध्यक्ष जेसी दिनेश न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बर्दघाट जेसीज वर्ष २०२२ का महासचिव जेसी सिसम पाण्डे गणेशले गर्नुभएको थियो ।

JCI News Archive