नवलपुर,भदौ २८ । नेपाल जेसीज क्षेत्र घ ले आयोजना गरेको सम्मेलनमा नवलपुरबाट प्रतिनिधित्व गर्ने जेसीज शाखा तथा जेसीज पदाधिकारी उत्कृष्ट छनौट भएका छन् । नेपाल जेसीजका ४ क्षेत्रमध्ये घ क्षेत्रका ५५ शाखाबाट बिभिन्न बिधामा उत्कृष्ट छनौट गरिएका थिए ।
जसमध्ये नवलपुर जेसीज बर्ष २०२२ लाई उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने शाखाका रुपमा छनौट गरी सम्मान गरेको हो । यस्तै, सम्मेलनमा नवलपुर जेसीज २०२२ कै अध्यक्ष राधिका भुसाल उत्कृष्ट महिला अध्यक्षका रुपमा छनौट भई प्रमाणपत्रसहित सम्मानित हुनुभएको छ । घ क्षेत्रमा १० जना महिला अध्यक्ष छन् ।
नवलपुरकै रजहर जेसीज २०२२ उत्कृष्ट तथा प्रभावकारी कार्यक्रम आयोजन गर्ने शाखाका रुपमा छनौट हुन सफल भएको छ । रजहर शाखाका अध्यक्ष ईश्वर लोहनीले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।
यस्तै, गैंडाकोट जेसीज २०२२ का अध्यक्ष शंकर अधिकारीलाई सक्रिय शाखा अध्यक्षका रुपमा छनौट गर्दै जेसीजले सम्मान गरेको छ भने देवचुली जेसीज २०२२ का अध्यक्ष दुर्गादेबी विष्टलाई देवचुली शाखाको पहिलो महिला अध्यक्षका रुपमा सम्मान गरेको छ ।
क्षेत्र घ मा रहेका प्रस्तावित शाखामध्ये प्रस्तावित बुलिङटार जेसीज उत्कृष्ट प्रस्तावित शाखाका रुपमा छनौटमा परेको छ ।
नेपाल जेसीजको आयोजना र टीकापुर जेसीजको आतिथ्यतामा कैलालीको टीकापुरमा क्षेत्र घ सम्मेलन भएको हो । सम्मेलन भदौ २४ र २५ मा भएको थियो ।
नेपाल जेसीजका क्षेत्र क, ख र घ ले सम्मेलन सम्पन्न गरेका छन् । क्षेत्र ग को सम्मेलन यही भाद्र ३१ र अशोज १ गते काठमाण्डौमा हुनेछ ।