लेखनाथ । यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लेखनाथ जेसिजले कास्की क्षेत्र नम्बर १ का उम्मेदवारहरूसँग ककस कार्यक्रम सम्पन्न गरेको छ । उम्मदेवारहरूका चुनावी एजेण्डा र प्रतिबद्धता प्रस्तुत गर्ने र त्यसमाथि मतदाताको जिज्ञासा राख्न पाउने गरी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्ना प्रतिबद्धताहरू प्रस्तुत गर्दै नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य पदका उम्मेद्वार खगराज अधिकारीले आफ्नो क्षेत्र नम्बर १ मा विगतदेखि नै विकास निर्माणका योजनाहरूमा हुने गरेका अवरोधहरू हटाउन आफू संघबाट प्रदेशमा झरेको बताएका थिए । उनले आफूलाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह पनि गरे ।
यस्तै माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गत निर्वाचनमा पनि विजयी भएर पाँच वर्ष इमानदारीपूर्वक विकास निर्माणका कार्यमा सहभागी भएको बताए । बाँकी रहेका विकासका कार्यहरू सम्पन्न गर्न आफूलाई विजयी गराउन उनले आग्रह गरेका थिए ।
उक्त अवसरमा नेपाली पाटीका कर्णेल मदन बहादुर केसी, राप्रपाका बाबुराम थापा, जसपाका रामकाजी चर्माकार र स्वतन्त्र विश्वराज पौडेल लगायतले आफनो ठाउँको विकासका लागि कुनै कसर बाँकी नराखी देश र जनताको हितमा काम गर्ने बताएका थिए ।
कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङ, नेपाली कांग्रेसका किशोरदत्त बराल, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य, राष्ट्रिय स्वतन्त्र पाटीका राजु राई, एकीकृत शक्ति नेपालकी सविना बेगम, मंगोल नेशनल अर्गनाइजेसनका यज्ञ बहादुर गुरुङ, नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली, जनता समाजवादीका शर्मिला नेपाली मगराती र स्वतन्त्र सौगात जिसी ले आफूले सारेका चुनावी एजेण्डा र जनतामाझ गरेका प्रतिबद्धताबारे प्रस्ट पारेका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष ऋषिराम जमरकटेल, उपाध्यक्ष प्रकाश राईभाट लगायतले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए । लेखनाथ जेसिजका महासचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा संयोजक अर्जुन ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।