बेनी, २४ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई १ का विरुद्ध २ गोल गर्दै मंगला गाउँपालिका–५मा रहेको शारदा माविले पहिलो पटक जेसीज कपको उपाधी जितेको हो ।
यसै बर्ष मात्रै कक्षा १० को पठनपाठन सुरु गरेको शारदा माविले गत बर्षदेखि मात्रै जेसीज कपमा सहभागीता जनाएको थियो । बेनीको खुलामञ्चमा भएको फाइनलको पहिलो हाफमा प्रकाश माविले १ गोल गर्दै शारदा माविलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किएका शारदा माविका खेलाडीहरुले दुई गोल गरी प्रकाश माविलाई १ गोलमै रोकेपछि जेसीजकपको उपाधी चुमेका हुन् ।
प्रतियोगितामा बिजेता शारदा माविका खेलाडीहरुलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेता प्रकाश माविका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री, संस्थापक अध्यक्ष एवम बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले बिजेता र उप–बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
फाइनल खेलमा शारदाका सिमन सिउथानी उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षकको पुरस्कार शारदाकै देबेन्द्र पुर्जाले हात पारे । प्रतियोगितामा प्रकाश माविका रिजन पुनले सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाउन सफल भए भने प्रकाश माविकै सुमन पुन उत्कृष्ट डिफेन्डर र सन्देश तामाङ उत्कृष्ट स्ट्राइकर बन्न सफल भए । प्रतियोगितामा केबी एकेडेमीका दिक्षित पुन राइजिङ प्लेयर, बालमन्दिर आधारभुत विद्यालयका शिक्षक बिर्सना चोखाल उत्कृष्ट कोच र केवी एकेडेमी अनुशासित टिमको रुपमा पुरस्कृत भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ भने भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
गत मंसिर २१ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको थियो । ‘‘जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन’’भन्ने मुल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए ।