कपिलवस्तु जेसिजमा २३ औं पदस्थापना भएको छ । अंग्रेजी क्यालेण्डर अनुसार हरेक नयाँ बर्षमा जेसिजको जिम्मेवारी एकले अर्कालाई हस्तान्तरण गर्ने गरिन्छ ।सोही अनुरुप कपिलवस्तु जेसिजमा बर्ष २०२३ मा निर्वाचित कार्य समितिलाई बर्ष २०२२ का निर्वाचित कार्य समितिलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गरिएको हो ।नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको पदस्थापना कार्यक्रममा जेसिज बर्ष २०२२ का अध्यक्ष गुरुदेव पौडेलले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष अमृत घिमिरेलाई पद हस्तान्तरण गरेका हुन् ।घिमिरे हालै कपिलवस्तु जेसिजमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । जेसिजमा १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवा आवद्ध हुन्छन् । सन २००० मा स्थापना भएको कपिलवस्तु जेसिज बाणगंगा क्षेत्रमा क्रियाशिल छ ।पदस्थापना कार्यक्रममा बोल्दै कांग्रेस सह-महामन्त्री पाण्डेले विधिको शासनमा जेसिजको मूल्य मान्यता अब्बल रहेको भन्दै हरेक क्षेत्रमा यसको फ्लो गर्नुपर्नेमा जोड दिए । वर्तमान राजनीति मूल्य, मान्यता र आर्दशबाट च्यूत हुँदै गएको भन्दै जेसिजमा आवद्ध युवाहरुलाई सत्यमा आधारित भएर निरन्तर अगाडी बढ्न आग्रह गरे ।