“लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ वि.सं. २०७९ फागुन २४ गते राजविराजमा संयुक्त र्याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइएको छ। राजविराज जेसीज तथा राजविराज नगरपालिकाको सहयोगमा इन्सेक, मेचीमहाकाली बुहारी संयुक्त आवाज, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, एकल महिला समूह, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, सबल नेपाल, प्राइम होलिक्रस एकेडेमी, नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठन लगायत सङ्घ–संस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया गरेर महिला माथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले सचेतनाका साथै महिलाहरू आर्थिक रुपमा सबल र आत्मनिर्भर नभएसम्म विकास असम्भव रहेको बताइन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले महिलाको सहभागिता बढाउँदै र क्षमता अभिवृद्धि गर्दै सशक्त रूपमा अघि बढ्न आह्वान गरेका थिए। राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराले महिला सशक्तीकरणले समाजमा घनात्मक प्रभाव पर्ने जिकिर गरेका थिए। प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका विभिन्न निकायमा महिलाको पहुँच बढदै गएको र महिला अधिकारका विषयमा प्रहरी संवेदननशील रहेको बताए। मेचीमहाकाली बुहारी संयुक्त आवाज सप्तरीकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला शिक्षक मञ्जु श्रेष्ठ, अधिकारकर्मी मालती चौधरी, नागरिक समाजका अध्यक्ष थान सिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, मारवाडी महिला मञ्चकी अध्यक्ष शारदा काबरा, परिकल्पना नेपालकीअ ध्यक्ष सुधा देब, मिलाफकी अध्यक्ष रमिला साह, पत्रकार दिनानाथ यादव, आदिवासी जनजाती पत्रकार महासङ्घकी प्रिया सिंह थारुले बाध्यकारी संवैधानिक व्यवस्थाले राजनीतिमा प्रतिनिधित्व गराउने मात्र नभई नीति निर्माण र नेतृत्वमा पुर्याउने वातावरण आवश्यक रहेको बताए।