भरतपुर, १६ असार ।
नारायणगढ लेडी जेसीजको २७औँ स्थापना दिवसका अवसरमा शनिबार स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।
जेसीज सप्ताह कार्यक्रमअन्तर्गत दोस्रो दिन नारायणी किनारमा यामाहा स्लो स्कुटी रेस प्रतियोगिता गरिएको छ । प्रतियोगितामा निशा श्रेष्ठ पहिलो, मीना गुरुङ दोस्रो र विपना बोहरा तेस्रो भएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी सुस्मिता श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा प्रथम हुनेले ५००० बराबरको हेलमेट, द्वितीयले २५०० बराबरको हेलमेट र बोतल अनि तृतीयले टिसर्ट र बोतल प्राप्त गरेका छन् । पुरस्कारलाई यामाहा शोरुम नारायणगढले सौजन्य गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कपिलसागर कर्माचार्यले विजयीलाई पुरस्कार प्रदान गरेका हुन् ।
जेसीजले २७औँ स्थापना दिवसका अवसरमा असार १५ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।