लेडी जेसीज कप राष्ट्रिय महिला प्रतियोगिता

2023-12-04


भरतपुर, ०७ मंसिर ।
लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा रौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनल खेल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १–० ले पराजित ग¥यो । प्रतिस्पर्धात्मक खेलमा रौतहटलाई जिताउन मेनुका आले मगरले निर्णायक गोल गरिन् । उनले खेलको अतिरिक्त समयमा गोल गर्दै रौतहटलाई उपाधि नजिक पु¥याएकी हुन् । खेल अवधिभर रौतहटलाई रोकेको गोकर्णेश्वर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो । मेनुकाले प्लेयर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।
दोस्रो सेमिफाइनलमा गैंडाकोट फुटबल क्लबलाई हराउँदै धनगढीले रौतहटसँगको उपाधि भिडन्त पक्का गर्‍यो । फाइनलमा स्थान बनाउन धनगढीले गैंडाकोटलाई २–० ले हरायो । उसको जितमा कप्तान निरु थापाले एक गोल गरिन् भने अर्को एक गोल धनगढीले उपहार पायो ।

निरुले २५ औं मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिन् । ३५ औं मिनेटमा गैंडाकोटकी कप्तान पुस्तिका वाग्लेले आत्मघाती गोल गरिन् । उनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टको जाली चुम्यो । धनगढीकी कप्तान निरु प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।
उपाधि भिडन्त मंसिर ९ गते शनिबार दिउँसो २ बजे हुनेछ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

JCI News Archive