पाल्पा जेसीजको अध्यक्षमा अर्जुन कार्की

2024-01-08

Alas

तानसेन। पाल्पा जेसीजको अध्यक्षमा अजुर्न कार्की चयन भएका छन् । वर्ष २०२४ का लागि सामाजिक अभियन्ता कार्कीको नेतृत्वमा चयन भएका पदाधिकारीको एक कार्यक्रमकाबीच पदस्थापनसमेत भएको छ ।

गत डिसेम्बर १ मा सर्वसम्मत चयन भएको समितिको शनिवार पद हस्तान्तरण भएको हो । वर्ष २०२३ का अध्यक्ष सुनिलकुमार बस्यालले वर्ष २०२४ का अध्यक्ष कार्कीलाई पद हस्तान्तरण गरे। यस्तै जेसीजका १६ जना पदाधिकारीले समेत पदभार ग्रहण गरेका छन् ।

वर्ष २४ का लागि निवर्तमान अध्यक्ष सुनिलकुमार बस्याल, कार्यकारी उपाध्यक्ष गणेश पन्थी, महेश खनाल, कानुनी सल्लाहकार विवेककाजी शाक्य, महासचिवमा विजय कार्की, कोषाध्यक्ष करन चित्रकार, उपाध्यक्षहरु सतिशराज शाक्य, विक्रम सिंह, कला दाहाल, मुकेश जिसी, सह–सचिवमा सुमन बस्याल, शाखा सम्पादक प्रकाश कार्की, प्रकरण निर्देशक प्रियंकर मुनी शाक्य, जनसम्पर्क अधिकारीमा निजाम दिन मिया, तालिम संयोजकमा बालकृष्ण बस्याल चयन भएको निर्वाचन मण्डलका संयोजक धिरजमान बज्राचार्यले जानकारी दिए।

पदभार ग्रहण गर्दै कार्कीले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ कार्य योजना तयार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।उनले आफ्नो कार्यकालमा सार्थक बनाउन “इन्सपायर युथ” प्रकरण प्रमुख अतिथिबाट अनावरण गराएको जानकारी दिए।

पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले वर्ष २०२४ का लागि चयन भएको कार्की नेतृत्वको नयाँ समितिलाई बधाई ज्ञापन गर्दै आफू सँधै जेसीजसँग रहने प्रतिबद्धता व्यक्त गरे । सासंद रानाले विधि, प्रक्रिया र पद्धतीमा चल्ने जेसीज उद्देश्य अनुसार समाज र मुलुकमा देखिएका विकृति, विसंगतीका विरुद्ध सशक्त ढंगले अगाडि बढ्न सुझाव दिए ।


तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले युवाले नै समाज रुपान्तरण गर्ने हुँदा यो संस्थाबाट क्षमता विकाससंगै समाज रुपान्तरणका अभियान चलाउनुपर्ने बताए ।

पाल्पा जेसीजका संस्थापक अध्यक्ष छत्रराज शाक्यले स्थापनाको सुरुवाती समयदेखि नै कार्य योजना निर्माण गरेर काम गर्ने परिपाटीले संस्थामा युवा आकर्षण बढेको स्मरण गर्दै खुसी व्यक्त गरे।

सो बखत नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा जेसीज वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष शैलेन्द्र भट्टराईलगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

JCI News Archive