कार्यक्रम : होली मिलन कार्यक्रम
स्थान : राजविराज जेसीज सभा हल
मिति : २०८० चैत १० गते शनिवार तदनुसार मार्च २३, २०२४
अध्यक्षता : अध्यक्ष जेसी विप्लव आनन्द
सहभागी : ३५ जना जेसीज सदस्य
उद्देश्यः
हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्दै होली मार्फत बन्धुत्वको भावना अभिवृद्धि गर्नु ।
कार्यक्रमको संक्षिप्त विवरणः
राजविराज जेसीजले होली मिलन कार्यक्रम मार्फत नेपालीहरूको महान पर्व फागु (होली) सलतापूर्वक मनाएको छ । चैत्र १० गते शनिवार तद्अनुसार मार्च २३ तारिखका दिन राजविराज जेसीजको आफ्नै सभा हलमा अध्यक्ष जेसी विप्लव आनन्दको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन महासचिव जेसी पंकज देवले गर्नुभएको थियो । कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरूका साथै सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवाती चरण औपचारिक रहेकोले सामूहिक राष्ट्रिय गान तथा जेसीज आस्था पाठसँगै कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा सहभागी अध्यक्ष जेसी विप्लव आनन्दको शुभकामना मन्तव्यसँगै अगाडि बढेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि राजविराज जेसीजका पूर्व अध्यक्ष जेसी अरुण प्रधान ज्यूले आफ्नो शुभकामना मन्तव्य मार्फत रङ्गहरूको पर्व जस्तै सम्पूर्ण जेसीज सदस्यको जीवन रङ्गमय बनोस् भन्ने शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरू क्रमशः जेसी देवेन्द्र देवकोटा, जेसी सतिश दत्त, जेसी मनोहर पोखरेल, जेसी सन्जय दास, जेसी सन्तोष सिन्हा, जेसी नानी मैयाँ कटवाल, जेसी सिद्धार्थ तातेड ज्यूले शुभकामना मन्तव्य दिदै रङ्गको पर्व होलीले विगतका वैमनष्यताहरूलाई बिर्सेर नयाँ सम्बन्ध बनाउँदै आगामी दिनहरू अगाडि बढुन् भन्दै उपस्थित सम्पूर्णलाई शुभकामना दिनुभएको थियो ।
अन्त्यमा, वर्ष २०२४ का निवर्तमान अध्यक्ष जेसी उज्ज्वल काबरा लगायत सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा औपचारिक कार्यक्रमको समापन मन्तव्य दिने क्रममा अध्यक्ष विप्लव आनन्दले आफ्नो कार्यकालको विगत ३ महिनाको उपलब्धि राख्दै शुभकामना मन्तव्य मार्फत होलीले सामाजिक सद्भावको अभिवृद्धि गर्दै सबैमा खुशियाली छाओस् भन्दै उक्त होली मिलन कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा सँगै सम्पूर्ण सहभागीहरु विच विभिन्न रंगका अविरहरु लगाएर खुशि साटासाट गर्दै होलीको मनोरञ्जन गरिएको थियो ।
उक्त कार्यक्रममा पूर्व अध्यक्षहरूले सम्पूर्ण सदस्यहरूलाई अबीर लगाई शुभकामना समेत आदान प्रदान गरिएको थियो । करिब २ घण्टा लामो कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य मित्रहरू बिच सौहार्दपूर्ण वातावरणमा शुभकामना आदानप्रदान गर्दै, खाजा ग्रहण गरी होली मिलन कार्यक्रमको समापन गरिएको थियो ।