तानसेन । पाल्पा जेसीजले आयोजना गरेको दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सम्पन्न भएको छ । तानसेन नगरपालिका ५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सञ्चालन भएको तालिममा ४० बढी महिलाहरुको सहभागिता रहेको थियो ।
वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले महिलाहरुको क्षमता विकास तथा भाषण कला सिकाउनका लागि वडा कार्यालयसंगको सहकार्यमा तालिम गरिएको बताउनुभयो । तालिममा सहभागीहरुले आगामी दिनमा सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायतमा निर्धक्कका साथ आफ्ना भनाइ राख्न सक्ने जनशक्ति तयार भएको बताउनुभयो । जेसीजले १८ देखि ४० वर्ष भित्रका उमेर समूहका युवाहरूको अन्तर्निहित क्षमताको पहिचान गर्ने र ती युवाहरूको व्यक्तित्व एवम नेतृत्व विकासका लागि रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष कार्कीले जानकारी समेत दिनुभयो ।
नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तालिमले महिलाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले नेपालको संविधानले महिलाहरूलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको बताउँर्दै महिलाहरू नेतृत्वमा आउन आवश्यकता अनुसार क्षमता विकास गर्नुपर्ने बताउनुभयो । पाल्पा जेसीजले स्थापनाकालदेखि युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न कार्य गर्दै आएकोमा प्रशंसा गर्दै सक्षम एवम दक्ष जनशक्ति तयार गरेर समाज रुपान्तरणमा महिला सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तालिम एउटा बाटो देखाउने माध्यम मात्र भएकाले आफ्नो क्षमता आफै प्रदर्शन गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाको जनसंख्या ५२ प्रतिशत भए पनि नेतृत्व तथा सीप विकासमा महिला अझै पनि कमजोर भएकोले तालिममा सहभागीहरुले सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । महिलाहरुको लागि प्रशस्त सीप र तालिमको लागि नगरपालिकाले निःशुल्क रुपमा व्यवस्था गरेकाले आवश्यकता अनुसारको तालिम लिएर दक्ष र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले मागमा आधारित सीप तालिमको प्रस्ताव लिएर आउन, समयमै बजेट माग गर्न, योजना तर्जुमामा सहभागी हुन, वडा तथा पालिकामा प्रस्ताव पेश गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सीप सिक्ने र उद्यमी बन्ने इच्छा शक्ति भएमा महिलाको लागि बजेटको अभाव नहुने बताउनुभयो ।
तालिममा ५ नंं वडा कार्यालयका कार्यवाहक अध्यक्ष मान बहादुर कार्कीले महिलाहरु आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई समय अनुसार सक्षम बनाउनका लागि महिला लक्षित बजेटबाट तालिम आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा पनि माग र आवश्यकता अनुसार क्षमता विकासका कार्यक्रम गर्न वडा कार्यालय सकारात्मक रहेको जानकारी समेत गराउनुभयो ।
प्रभावकारी सञ्चार सीपको प्रयोग र प्रयोग नगर्दा पर्ने असर, महिला नेतृत्व विकास र महिला अधिकारका विषयमा रजनी थापा र कला दहालले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी लक्ष्मी कुवँर, मन खाती र सिता कार्कीले तालिमले आफूभित्र रहेको क्षमता देखाइदिएको बताउनुभयो । उहाँहरुले तालिमले आत्मवल बढाएकोले आगामी दिनमा सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रचितबद्धता व्यक्त गर्नुभयो । साथै उहाँहरुले यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गर्नका लागि आग्रह समेत गर्नुभयो ।