पाल्पामा जेसीज सप्ताह शुभारम्भ

2024-07-19


तानसेन । पाल्पा जेसीजको आयोजनामा जेसीज सप्ताह २०२४ शुभारम्भ भएको छ । शुक्रबारदेखि सुरु भएको जेसीज सप्ताह साउन १० गतेसम्म सञ्चालन हुने छ ।

सप्ताहको एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो । नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले सुरु गरिएको जेसीज सप्ताह प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले पाल्पा जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा ठूलो मद्दत गर्दै आएको बताउर्दै सप्ताह सफल बनाउन नगर सरकार र आफ्नो व्यक्तिगततर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाल्पा जेसीजका सस्थापक अध्यक्ष छत्रराज शाक्यले पाल्पामा जेसीजले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले स्थापनाको समयदेखि १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको क्षमता अभिवृद्धिका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । यसका साथै संस्थापक अध्यक्ष शाक्यले पछिल्लो नेतृत्वको क्रियाशीलता नमुनायोग्य रहेकोले सक्रियताले नै व्यक्ति वा संस्थालाई स्थापित गर्ने बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा सम्पूर्ण संघ सस्थाकोतर्फबाट बोल्दै नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बाबुराम कार्कीले युवाहरुको क्षमता तथा नेतृत्व विकासमा पाल्पा जेसीजले सघाउदै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले युवाहरुको नेतृत्वले मात्र देशको विकासमा नतिजामूखी काम हुने बताउनुभयो ।

कार्यक्रममा पाल्पा जेसीजका पूर्व अध्यक्ष बुद्विप्रसाद शर्माले जेसिज सामाजिक सस्था रहेको बताउनुभयो । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मुख्य उद्देश्यले सामाजिक क्षेत्रमा अग्रसर रहेको सस्था जेसीले सप्ताहव्यापी कार्यक्रम सुरू गरी नमुना काम गरेको बताउनुभयो । कार्यक्रममा तानसेन वडा न ४ का वडाध्यक्ष हेमन्तराज शाक्य, तानसेन वडा नं. १ का वडाध्यक्ष एवम जेसीजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्याल, वडा न ६ का वडाध्यक्ष सागरमान महर्जन, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष तथा पाल्पा जेसीजका पूर्व अध्यक्ष शैलेन्द्र भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मालगायतले समय अनुसार युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि वडा संग समन्वय गरेर सप्ताह सञ्चाल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्दै कार्यक्रम उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम पाल्पा जेसीज बर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको हो । सप्ताहव्यापी कार्यक्रमको पहिलो चरणमा तानसेन नगरपालिका भित्रका १ नं. वडादेखि ७ नं. वडामा व्यक्तित्व र नेतृत्व विकास कार्यक्रम गरिने अध्यक्ष कार्कीको भनाइ छ । उहाँले क्रमिक रुपमा तानसेन नगरपालिकाका सबै वडाका साथै अन्य स्थानीय तहमा समेत कार्यक्रम गरिने बताउनुभयो ।

जेसीज सप्ताहको औपचारिक शुभारम्भ भएसंगै तानसेन ४ नं. वडामा व्यक्तित्व र नेतृत्व विकास तालिम सकिएको छ । तालिममा वडाले छनोट गरेका युवा तथा महिलाहरुको सहभागिता रहेको थियो । जसमा नेतृत्व र व्यक्तित्व विकासका विषयमा कला दाहल र अन्जिना खनाल बोहराले सहजीकरण गर्नुभएको थियो ।

JCI News Archive