खेलकुद सामग्री वितरण गर्दै समापन

2024-07-20

टीकापुर, साउन ५

टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम आज समापन भएको छ । टीकापुरस्थित १४ जिआर फुटबल एकाडेमीका खेलाडीहरुलाई फुटबल लगायतका खेलकुद सामग्री वितरण गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको हो । 

एकाडेमीमा विभिन्न उमेर समूहका १ शय ५० बढी बालबालिकाले फुटबल प्रशिक्षण लिँदै आएका छन् । उनीहरुलाई सुदूरपश्चिम स्पोर्टस् एकाडेमीका पूर्व कप्तान एवं एन्फाका फुटबल प्रशिक्षक गजेन्द्र शाहीले प्रशिक्षण दिँदै आएका छन् । 

प्रतिव्यक्ति मासिक ५ शय रुपैयाँमा फुटबल प्रशिक्षण दिँदै आएको एकाडेमीलाई सहयोग पुर्याउन जेसिजले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन खेलकुद सामग्री वितरण गर्दै समापन गरेको हो । 

कार्यक्रममा टीकापुर जेसिजका संस्थापक अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सकारात्मक पहल हुनेमा विश्वास व्यक्त गरे । 

'टीकापुरलाई खेलकुदको क्षेत्रबाट चिनाउनका लागि हामीले नीतिगत निर्णय गरेर बजेट व्यवस्थापन गर्न पहल गर्नेछौं’ डाक्टर रावलले भने ‘त्यसका लागि स्थानीय वडा, पालिकाबाट सिफारिस भएर योजना आउनु पर्छ, हाम्रो पालिकाबाट त्यस्तो योजना आउन सकेको छैन ।’

कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले टीकापुर क्षेत्रलाई खेलकुदको माध्यमबाट चिनाउन गजेन्द्र शाही लागि परेको बताए । 

‘लामो समयदेखि फुटबलका माध्यमबाट टीकापुर चिनाई रहेको गजेन्द्र शाहीले अब प्रशिक्षणका माध्यमबाट टीकापुर चिनाउने अभियान थालेका छन्’ अध्यक्ष रावलले भने ‘खेलकुदका माध्यमबाट टीकापुरलाई चिनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको छ ।’

टीकापुर जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्षद्वय राजकुमार हमाल, टेकराज रेग्मी, जेसिजका मानार्थ सदस्य पृथ्वीराज ढुंगाना, फुटबल प्रशिक्षक गजेन्द्र शाही ‘गज्जु’, लगायतले बोलेका थिए । 

जेसिजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्ट मानसले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए ।  

JCI News Archive