मर्स्याङदी समाचार, १ फागुन
लमजुङ जेसीजद्धारा सुन्दरबजार ८ स्थित भक्ति नमुना मा.वि. का विशेष शिक्षा स्रोत कक्षाका विद्यार्थीहरुलाई बेलुकाको भोजन संगै खाद्यान्न सहयोग गरेका छन् । सुन्दरबजार नगरपालिका उपप्रमुख भवानि केसिको प्रमुख आतिथ्यतामा उक्त खाद्यान्न हस्तारन्तरण भएको हो ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै उपप्रमुख केसीले श्रवण शक्ति कम भएका बालबालिकालाई सहयोग गर्दा उक्त बालबालिकालाई थोरै भए पनि सहयोग पुग्ने बताउदै उक्त बालबालिका र लमजुङ जेसीजलाई नगरपालिकाको तर्फबाट हर समय सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लमजुङ जेसीज २०२५ को अध्यक्ष प्रतिजंग तामाङका अनुसार उक्त विद्यालयका विद्यार्थीहरुलाई स्वाच्छ र सफा वातावरणमा अध्यपन गराईएको पाईएको छ । तामाङले उक्त विद्यालयमा विद्यार्थीका लागि भौतिक कुराको कमि देखिएको भन्दै कार्यक्रमबाट नै स्थानिय सरकार संग सहयोगको अपिल समेत गर्नुभएको छ ।
२२ जना रहेका उक्त विद्यालयका विद्यार्थीलाई लमजुङ जेसीजले १७ हजार ८०० सय बराबरको खाद्यन्न सहयोग गरेको लमजुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले बताउनु भयो ।
कार्यक्रममा सुन्दरबजार वडा नं. ८ का वडा अध्यक्ष विजेन्द्र थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आर्चाय, लमजुङ जेसीज बर्ष २०२५ का कानुनी सल्लाहकार एवं पूर्व अध्यक्ष प्रेम गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
लमजुङ जेसीज बर्ष २०२५ का अध्यक्ष प्रतिजंग तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव राजु गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा विशेष शिक्षा स्रोत कक्षाका विद्यार्थीहरु र जेसीजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।