पर्वत जेसीजद्वारा महाशिवरात्रीको अवसरमा गुप्तेश्वर गुफामा प्रसाद वितरण

2025-02-28
सामाजिक सेवाका कामहरू गर्दै आइरहेको पर्वत जेसिजले महाशिवरात्रिको अवसरमा कुश्माको गुप्तेश्वर गुफामा प्रसाद वितरण गरेको छ ।
शिवरात्रिको दिनमा पूजाआजाका लागि पुग्ने भक्तजनहरूलाई प्रसाद वितरण गर्नका लागि आवश्यक सामग्री र नगद सहित जेसिजले सहयोग गरेको हो । प्रसाद बनाउनको लागि आवश्यक दूध, चामल, ग्याँस लगायतका बस्तुहरू सहित नगद सहयोग गरिएको हो । ती सामग्रीहरू गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायलाई हस्तान्तरण गरिएको हो । सामग्रीहरू ग्रहण गर्दै अध्यक्ष उपाध्यायले जेसिजले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
विगतमा पनि जेसिजले गुप्तेश्वर गुफामा सहयोग गर्दै आइरहेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले आफ्नै खल्तीबाट रकम सङ्कलन गरेर सामाजिक सेवाका कामहरू गर्दै आइरहेको पर्वत जेसिज गर्ने गरेका फरक प्रकृतिका कामहरूलाई निरन्तरता दिन अनुरोध गरे । जोसिला युवाहरूको काम गर्ने आँट र चाहनाका कारण नै सामाजिक क्रियाकलापहरू अगाडि बढ्ने उनको भनाई छ ।
शुभकामना मन्तव्य राख्दै नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक प्रकाश रिजालले आवश्यकताका आधारमा सहयोग गर्ने पर्वत जेसिजको कामलाई निरन्तरता दिनु अनुरोध गरे । निस्वार्थ रूपमा सामाजिक सेवामा सक्रिय युवाहरूको सहकार्यले सामाजिक एकतामा पनि सहयोग पुग्ने उनको भनाइ छ । कार्यक्रममा  जिल्ला निर्वाचन अधिकृत लक्षु शर्मा, नारायण मा.वि.को विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीका स्वकीय सचिव पुष्कालराज शर्मा, गुप्तेश्वर बेदबेदाङ्ग पाठशालाका प्रमुख टङ्कनाथ शर्मा लगायतको सहभागिता रहेको थियो ।
पर्वत जेसिज वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले सामाजिक सेवा नै हरेक मानिसको मुख्य लक्ष्य हुनुपर्ने बताए । जेसिजका सदस्यहरूले आफ्नो खाजा खर्च कटौती गरेर भए पनि समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको उनको भनाइ छ । अध्यक्ष पौडेलकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जेसिज वर्ष २०२५ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुनराज पुरी र सञ्चालन महासचिव प्रवेशराज पुरीले गरेका थिए ।
JCI News Archive