
पर्वत – उपभोक्ताका हक र अधिकार सुनिश्चित गर्न मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवस पर्वतमा पर्वत जेसीजको सक्रिय समन्वयमा भव्य रूपमा सम्पन्न भएको छ। ‘दिगो जीवनशैलीतर्फको न्यायपूर्ण रूपान्तरण’ नारासहित आयोजित कार्यक्रम जिल्ला प्रशासन कार्यालय कुश्मा, पर्वत तथा पर्यटन तथा उद्योग कार्यालय कुश्माको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारी ले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख गणेश पौडेल रहनुभएको थियो। विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख रबिन बिष्ट रहनुभएको थियो।
कार्यक्रममा पर्वत जेसीजका पूर्वअध्यक्ष तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी. पौडेल, पर्वत जेसीज वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेल, नारायण मावि प्रधानाध्यापक प्रकाश रिजाल, नारायण मावि बी.व्य.स. अध्यक्ष कृष्ण प्रसाद शर्मा, पर्यटन तथा उद्योग कार्यालय प्रमुख तथा पर्वत जेसीज वर्ष २०२५ का पदाधिकारीहरूको विशेष उपस्थिति थियो।
विशेष गरी पर्वत जेसीजले उपभोक्ता सचेतना अभिवृद्धिमा खेल्नुपर्ने भूमिकालाई कार्यक्रममार्फत उजागर गर्दै, उपभोक्ता अधिकार संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम नारायण मा. वि.मा सम्पन्न भएको थियो, जहाँ विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पर्वत जेसीजको समन्वय तथा सरकारी निकायहरूको आयोजनामा सम्पन्न यस कार्यक्रमले उपभोक्ता अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।