कुश्मा, चैत २२ – पर्वत जिल्लाको अग्रणी संस्था पर्वत जेसीजको वर्ष २०२५ को
प्रथम साधारण सभा शुक्रवार साँझ ५ बजे पर्वत जेसीज सचिवालय, कुश्मामा सम्पन्न भएको छ। पर्वत जेसीज वर्ष २०२५ का शाखा
अध्यक्ष जेसी अच्युत पौडेलको अध्यक्षतामा भएको प्रथम साधारण सभामा संस्थाका
पदाधिकारीहरू, पूर्व अध्यक्षज्यूहरू तथा
सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त सभामा अद्यक्षीय क्लब अध्यक्ष जेसी निर्मल विश्वकर्मा, पूर्व अध्यक्ष उषा चापागाईं, निर्वतमान अध्यक्ष जेसी मिलन पौडेल, वर्ष २०२५ का कानुनी सल्लाहकार अमृत प्रसाद पोखरेल, महासचिव जेसी प्रवेशराज पुरी, कार्यकारी उपाध्यक्ष जेसी शार्मिला पौडेल र जेसी मञ्जु शर्मा, तालिम निर्देशक पदमलाल गौतम, उपाध्यक्षहरू जेसी अर्जुनराज पुरी, जेसी पवन श्रेष्ठ, जेसी सुजन श्रेष्ठ, जेसी पार्वती शर्मा, साथै निर्देशक जेसी अजय पोखरेल र सदस्य सुरज श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो भने सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो, जसले संस्थाप्रतिको प्रतिबद्धता र जागरूकताको झल्को दिएको थियो। साधारण सभामा प्रमुख रूपमा संस्थाको विगत बैठकका निर्णयहरूको अनुमोदन गर्दै, वर्ष २०२५ ले गरेको त्रैमासिक कार्यक्रमहरुको समिक्षा गरिएको थियो। विविध सामाजिक, शैक्षिक र जनचेतनामूलक कार्यक्रमहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा गहिरो छलफल गरिएको थियो।
यसबाहेक, साधारणमा संस्थाको वार्षिक गतिविधिहरू समेटिएको २०८२ सालको क्यालेन्डर विमोचन लागि विशेष छलफल गरिएको थियो, जसले जेसीज गतिविधिहरूलाई थप व्यवस्थित, पारदर्शी गराउदै ऐतिहासीक कार्यहरु पनि झल्काउने अपेक्षा गरिएको छ ।सभामा विविध विषयहरूमा छलफल गर्दै सदस्यहरूले संस्था भित्रका चुनौती र सम्भावनाका विषयमा विचार व्यक्त गरेका थिए। सदस्यहरूबाट आएका सुझावहरूलाई गम्भीरतापूर्वक लिइ आगामी योजना निर्माणमा समावेश गरिने अध्यक्ष पौडेलले बताएका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी अच्युत पौडेलले सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य तथा विशिष्ट व्यतित्वलाई धन्यवाद ज्ञापन गर्दै, जेसीजको मूल मर्मअनुसार नेतृत्व विकास, समाज सेवा र आत्मविकासमा संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।