पर्वत, वैशाख ७ — सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र समृद्ध समाज निर्माणमा क्रियाशील संस्था पर्वत जेसीजले २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ । कुश्मास्थित पर्वत जेसीज सचिवालयमा आयोजित भव्य समारोहका बीच सार्वजनिक गरिएको यस भित्तेपात्रोले संस्थाका ऐतिहासिक गौरवलाई समेट्दै उज्यालो दृष्टिकोण प्रस्तुत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रप्रसाद पौडेलले क्यालेन्डर विमोचन गर्दै सामाजिक रूपान्तरणको यात्रामा पर्वत जेसीजले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभया े। उहाँले क्यालेन्डरलाई केवल मितिहरूको संकलन नभई स्थानीय सम्पदाको दर्पणका रूपमा चित्रित भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सभापतित्व पर्वत जेसीज २०२५ का अध्यक्ष अच्युत पौडेलले गर्नुभएको थियो । उहाँले संस्थाले नेतृत्व विकासका विविध कार्यक्रम, समुदाय सशक्तीकरणका पहल र युवालाई अभिप्रेरित गर्ने अभियानमार्फत सामाजिक रुपान्तरणमा योगदान दिइरहेको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा क्यालेन्डर प्रकाशन समिति संयोजक लक्ष्मण बि.सी.ले क्यालेन्डर निर्माण प्रक्रियाबाट लिएर यसको समावेशी विषयवस्तु, फोटो छनोट र सामुदायिक सन्देशहरूमाथि प्रकाश पार्नुभयो । यस क्यालेन्डरमा जेसीजद्वारा २०२५ मा सञ्चालन गरिने विविध गतिविधिहरूको झलक समावेश गरिएको छ, जसले सम्पूर्ण वर्षभरि संस्था र समाजको नजिकको सम्बन्धलाई परिलक्षित गर्दछ । कार्यक्रममा महासचिव प्रवेशराज पुरीले आकर्षक ढंगले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अतिथिका रूपमा अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्मा, तालिम प्रतिठान संयोजक जेसीआई सिनेटर अर्जुन प्रसाद चापागाईं र संस्थापक महासचिव तथा पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर बसन्त कुमार कर्माचार्यको गरिमामय उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पर्वत जेसीजका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू र सक्रिय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विमोचित क्यालेन्डरलाई २०२५ को कार्यक्रमहरूको दर्पण मात्र नभई संस्थाको भावी यात्राको दिशानिर्देशकका रूपमा समेत हेरिएको छ । २०२५ को उल्लेखनीय, रचनात्मक तथा ऐतिहासिक कार्य अन्तर्गत संस्थाको महत्त्वपूर्ण दस्तावेज स्वरुप तयार पारिएको विं.सं. २०८२ सालको क्यालेन्डर प्रकाशन कार्यमा सकारात्मक सहयोग गर्नुहुने सम्पुर्ण बिज्ञापनदाता, प्रकाशन समिति सदस्यहरु तथा पर्वत जेसीज परिवारलाई अध्यक्ष पौडेलले आभार प्रकट गर्दै पर्वत जेसीज आगामी दिनहरूमा पनि समाज हितका कार्यक्रमहरूलाई निरन्तरता दिँदै अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।