देवघाटधाम जेसीज र देवघाट गाउँपालिका वडा नं. ५, तनहुँमा अवस्थित गण्डकी आल्मुनियम उद्योगबीच कर्पोरेट समझदारी सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार देवघाटधाम जेसीजका सदस्यहरूले गण्डकी आल्मुनियम उद्योगबाट उत्पादित सेवा तथा सामाग्रीमा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
समझदारी कार्यक्रममा गण्डकी आल्मुनियम उद्योगका तर्फबाट युवा उद्यमी सञ्चालक श्री कोमलकान्त काफ्ले र श्री अच्युत काफ्ले तथा देवघाटधाम जेसीजका तर्फबाट अध्यक्ष जेसि प्रशन्न ढकाल, व्यवसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रका कार्यकारिणी उपाध्यक्ष जेसि माधव न्यौपाने, व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसि डा. सम्राट अधिकारी र निर्देशक जेसि अर्जुन सापकोटा उपस्थित रहनुभएको थियो।
सम्झौता अवसरमा गण्डकी आल्मुनियम उद्योगका सञ्चालकद्वयले गुणस्तरीय आल्मुनियम सामग्री उत्पादन तथा आपूर्ति गर्दै स्थानीय क्षेत्रको विकासमा योगदान पुर्याउन निरन्तर प्रयत्नरत रहेको जानकारी गराउनुभएको थियो। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाटधाम जेसीजसँगको सहकार्यलाई उद्योगको गौरवपूर्ण कदमका रूपमा प्रस्तुत गर्नुभएको थियो।
देवघाटधाम जेसीजका अध्यक्ष जेसि प्रशन्न ढकालले बर्ष २०२५ को प्रकरण Dream Dare Do अभियानलाई स्मरण गर्दै यस्ता कर्पोरेट समझदारीहरूले सदस्यहरूलाई उद्यमशीलता र आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्ने, साथै स्थानीय उद्योग र सामाजिक संस्थाबीच सशक्त सहकार्यको माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अन्य पदाधिकारीहरूले पनि देवघाटधाम जेसीजले सदस्यहरूको हित र सुविधाका लागि व्यवसायिक सहकार्यहरूलाई प्राथमिकता दिँदै आएका कुरा उल्लेख गर्दै, भविष्यमा यस्ता सहकार्यलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
गण्डकी आल्मुनियम उद्योगले आल्मुनियम तथा UPVC झ्याल ढोका, पार्टेसन, ग्लेजिङ, स्टिल तथा फलाम रेलिङ, ACP प्यानेल बोर्ड तथा जिप्सम लगायत निर्माण र सजावटको लागि गुणस्तरिय सेवा दिँदै आएको छ ।
यस समझदारीले देवघाटधाम जेसीजका सदस्यहरूलाई गुणस्तरीय उत्पादनहरूमा सहज पहुँच प्रदान गर्नुका साथै स्थानीय युवा उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।