पर्वत जेसीज "फ्रेन्डस अफ प्रदेश अस्पताल" को रूपमा घोषित

2025-05-07
प्रदेश अस्पताल कुश्मा परिसरमा नेस्डो नेपालको विशेष सहयोगमा स्थापना गरिएको "न्यानो कपडा घर" को उद्घाटन २०८२ बैशाख २४ गते सम्पन्न भएको छ। विपन्न तथा आवश्यकता भएका बिरामी तथा सेवाग्राहीलाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस अवसरमा पर्वत जेसीजलाई अस्पतालको सहयोगी संस्था "फ्रेन्डस अफ प्रदेश अस्पताल" को रूपमा औपचारिक रूपमा घोषित गरिएको छ। अबदेखि जेसीजले अस्पतालसँग सहकार्य गर्दै न्यानो कपडा संकलन तथा वितरण, रक्तदान, जनचेतना अभिवृद्धि, सरसफाइ जस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने बताइएको छ।
अस्पताल प्रशासनले नेस्डो नेपालप्रति विशेष धन्यवाद प्रकट गर्दै पर्वत जेसीजको सेवा भावना र सक्रियताप्रति प्रशंसा जनाएको छ। कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्री शंकर गिरीले यस किसिमको सहकार्यले स्वास्थ्य सेवा र सामाजिक दायित्व बीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी पर्वत जेसीज वर्ष २०२५ का अध्यक्ष श्री अच्युत पौडेलले समुदायप्रति उत्तरदायी भई आगामी दिनहरूमा अस्पतालसँग अझ सघन रूपमा सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता जनाउनुभयो।
JCI News Archive