उर्लाबारी, वैशाख १७, २०८२
April 30th 2025
JCI उर्लाबारीले विश्व अटिजम सचेतना महिना - अप्रिल २०२५ अन्तर्गत एक महिनासम्म सञ्चालन गरिएको अभियानलाई भावनात्मक रूपमा समापन गरेको छ। सडक नाटक, थेरापी सेन्टर भ्रमण, संवेदनशील भिडियोहरू, र सामाजिक सञ्जालबाट गरिएको सचेतनामूलक प्रयासले करिब २ लाखभन्दा बढी मानिसमा प्रभाव पारेको छ।
अन्तिम समिक्षा बैठकमा अध्यक्ष जेसी टिका प्रसाद भट्टराईले भावुक हुँदै भन्नुभयो, “यो केवल अभियान मात्र होइन, यो सहानुभूति, शिक्षा र समावेशीताको आन्दोलन थियो। हामीले मनहरुलाई छोएकाछौं, धेरैले सिके र समर्थन गर्न प्रतिबद्ध भए।”
ई.भी.पी. जेसी रञ्जित श्रेष्ठले भने, “म यो अभियानसँग व्यक्तिगत रूपमा जडित भएँ। समुदायबाट पाएको प्रतिक्रिया हाम्रो अपेक्षा भन्दा धेरै माथि थियो।”
संयोजक तथा उपाध्यक्ष जेसी मिलन पोख्रेलले भने, “यो मेरो लागि केवल कार्यक्रम थिएन। हरेक सन्देश, हरेक टिप्पणी, अभिभावकको हरेक भावनालाई मैले सबैलाई आत्मसात् गरेंहोला। म ती बच्चाहरू र अभिभावकहरूसँग जोडिएको महसुस गर्थें। हामीले उद्देश्यका साथ सुरु गर्यौं, अब यसलाई एउटा मिशन बनाएर अगाडि बढ्नेछौं।”
अभियान अन्तर्गत उर्लाबारीस्थित आकार फाउन्डेसन र दमकको थेरापी सेन्टरमा भ्रमण गरियो, थेरापिस्ट र अभिभावकहरूसँग भेटघाट गरियो, र उनीहरूको जीवनका कथा डिजिटल माध्यमबाट प्रस्तुत गरियो।
अन्त्यमा JCI उर्लाबारीले नगरपालिकामा समावेशी शिक्षाका लागि प्रस्ताव लैजाने योजना सार्वजनिक गरेको छ र स्रोत, तालिम, तथा सहकार्यका माध्यमबाट यस परियोजनालाई थप विस्तार गर्ने तयारीमा रहेको छ।