देवघाटधाम जेसीजको चिया गफ कार्यक्रम सम्पन्न

2025-05-13

देवघाट, तनहुँ – जेसीआई देवघाटधामले आयोजना गरेको  चिया गफ कार्यक्रम देवघाट ५ स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा २०८२ बैशाख २९ गते सम्पन्न भएको छ। देवघाट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर कुँवरसँग देवघाट क्षेत्रका समसामयिक विषयमा जेसीआई देवघाटधामका पदाधिकारीहरूबीच यो विशेष छलफल आयोजना गरिएको हो।


सामाजिक उत्तरदायित्व, विकासका सम्भावना, स्थानीय तहसँगको समन्वय र युवाको भूमिकालाई केन्द्रमा राखेर गरिएको कार्यक्रममा वडाध्यक्ष कुँवरसँग देवघाटको विकास र प्रवर्द्धनका बहुआयामिक विषयहरूमा गहन छलफल गरिएको थियो। कार्यक्रमको उद्देश्य युवाहरूले निर्वाचित जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै नीति, योजना र कार्यान्वयनका विषयमा बुझ्न र सुझाव दिन सकून् भन्ने रहेको थियो।


वडाध्यक्ष कुँवरले कार्यक्रममा बोल्दै भन्नुभयो, “देवघाटको समृद्धि युवाको सक्रियता बिना सम्भव छैन। तपाईहरू जेसीजजस्ता संगठनमार्फत अघि सर्नु भएको देख्दा मलाई खुशी लाग्छ।” उहाँले शिक्षा, स्वास्थ्य, सडक, धार्मिक पर्यटन, फोहरमैला व्यवस्थापनजस्ता जनजीविकासँग जोडिएका विषयहरूमा गाउँपालिकाको प्रयासबारे जानकारी दिनुभयो र युवाहरूको चासोलाई गम्भीरतापूर्वक लिने आश्वासन दिनुभयो।


जेसीआई देवघाटधामका अध्यक्ष जेसी  प्रशन्न ढकालले कार्यक्रममा वडाध्यक्ष कुँवरलाई स्वागत गर्दै भन्नुभयो, “हामी जेसीजका युवाहरु सधैं सकारात्मक सोच, समन्वय र सहकार्यका माध्यमबाट समुदायमा योगदान पुर्‍याउने लक्ष्यमा छौं। यस्ता संवादले योजनालाई स्थानीय आवश्यकताको आधारमा अघि बढाउन सघाउ पुर्‍याउँछ।”


कार्यक्रममा उपस्थित अन्य पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्दै देवघाटको समस्याहरू र सम्भावनाहरूको विषयमा सुझाव र प्रश्नहरू प्रस्तुत गरेका थिए। वडाध्यक्ष कुँवरले सबै जिज्ञासाहरूलाई गम्भीर रूपमा लिँदै आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा युवाको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यका साथ जेसीआई देवघाटधामले सञ्चालनमा ल्याएको चिया गफ कार्यक्रम अब अन्य जनप्रतिनिधिसंग पनि सञ्चालन गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो।


JCI News Archive