पर्वतमा ब्याडमिन्टनको प्रतिष्ठा स्थापित गर्न योगदान पुर्याउने अध्यक्ष गुरुङ सम्मानित

2025-05-21

जेठ ३ पर्वत जिल्लामा ब्याडमिन्टन खेलको विकास, विस्तार र राष्ट्रिय स्तरमा जिल्लाको गौरव बढाउने अभियानमा क्रियाशील पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेम कुमार गुरुङलाई एक विशेष सम्मान समारोहका बीच उच्च सम्मान प्रदान गरिएको छ। पर्वत जेसीजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पर्वत जेसीज अध्यक्ष अच्युत पौडेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रूपमा जलजला गाउँपालिकाका संस्थापक अध्यक्ष तथा समाजसेवी रामकृष्ण मल्लको  उपस्थिति रहेको थियो । अतिथिका रूपमा वरिष्ठ सामाजिक अभियन्ता कृष्ण प्रसाद शर्मा लगायत क्षेत्रीय खेलकर्मी, बुद्धिजीवी तथा ब्याडमिन्टनप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले प्रेम कुमार गुरुङको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति गहिरो कृतज्ञता व्यक्त गरे। उनीहरूले गुरुङले नेपालका विभिन्न जिल्लाहरूमा आयोजना गरिने राष्ट्रिय स्तरका प्रतिष्ठित ब्याडमिन्टन प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै पर्वत जिल्लालाई विजयी बनाउँदै ल्याएको सफलताको चर्चा गरे। गुरुङको कर्मठता, दूरदृष्टि र खेलप्रतिको समर्पणले पर्वत ब्याडमिन्टन संघलाई एक सक्रिय र अग्रणी संस्थाका रूपमा परिचित गराएको भन्दै प्रशंसा गरिएको थियो।

JCI News Archive