देवघाट, तनहुँ – २०८२ जेठ २९ – शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले देवघाटधाम जेसीजको आयोजनामा र देवघाट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा पाँच दिने विशेष सूचना तथा सञ्चार प्रविधि (ICT) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम देवघाट गाउँपालिका सभाहलमा जेठ २५ देखि २९ गतेसम्म सञ्चालन भएको हो।
तालिममा देवघाट गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरूबाट प्रति विद्यालय एक शिक्षकको प्रतिनिधित्व रहेको थियो। प्रशिक्षणमा ३५ जना शिक्षकहरु सहभागी हुनुभएको थियो । शिक्षकहरूलाई प्रविधिमैत्री बनाउँदै शिक्षण–सिकाइ प्रक्रियामा डिजिटल प्रविधिको उपयोग प्रभावकारी बनाउन सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा आधारित तालिम दिइएको थियो।
तालिमका प्रमुख प्रशिक्षकका रूपमा देवघाटधाम जेसीज २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले डिजिटल शिक्षाको महत्त्व, आधुनिक शिक्षण प्रविधिको प्रयोग, Classroom Management, Microsoft Office Tools, Google Workspace, Zoom, Online Forms, ई–गभर्नेन्स तथा साइबर सुरक्षासम्बन्धी विषयमा समग्र रूपमा प्रशिक्षण दिनुभएको थियो।
उहाँको प्रशिक्षणले सहभागीहरूलाई सूचना प्रविधिको प्रयोग मात्र नभई नैतिक र सुरक्षित प्रविधि उपयोग गर्ने दिशामा पनि सचेत तुल्याएको सहभागीहरूको भनाइ थियो।
तालिममा देवघाट गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत श्री अरुण अधिकारी र लेखा अधिकृत श्री शरद न्यौपानेले सहप्रशिक्षकको रूपमा समावेशी, पारदर्शी सूचना प्रवाह, डिजिटल कागजात व्यवस्थापन, सरकारी प्रणालीमा प्रविधिको भूमिका लगायतका पक्षहरूमा सहजीकरण गर्नुभएको थियो।
तालिममा सहभागी शिक्षकहरूले पावरपोइन्ट प्रस्तुतीकरण, क्यान्भा डीजाईन,AI, माईक्रोसफ्ट एक्सेल , वर्ड, अनलाइन फारमहरू निर्माण, ई–कन्टेन्ट विकास, गूगल ड्राइभको सुरक्षित उपयोगजस्ता व्यवहारिक अभ्यासमार्फत तालिमलाई अझ अर्थपूर्ण र प्रभावकारी बनाएका थिए।
उनहरूले आफ्नो विद्यालयमा प्रविधिमैत्री शिक्षण वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।
तालिमको समापन सत्रमा प्रमुख अतिथिको रूपमा देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य श्री तिल बहादुर थापा सहभागी हुनुहुन्थ्यो।
उहाँले शिक्षा क्षेत्रमा प्रविधिको एकीकरणले सिकाइ प्रक्रिया सरल, आकर्षक र अन्तरक्रियात्मक हुने विश्वास व्यक्त गर्दै यस्ता तालिमहरूलाई आगामी दिनमा गाउँपालिकाको नीति तहमै प्राथमिकता दिने बताउनुभयो। उहाँले देवघाटधाम जेसीज र गाउँपालिकाबीचको सहकार्यलाई नमूना रुपमा लिएर आगामी दिनमा अरू क्षेत्रलाई पनि समेट्ने अभिप्राय राख्नुभयो।
तालिमको समापन समारोहमा सहभागी शिक्षकहरूको प्रतिक्रिया प्रस्तुतिकरण, उत्कृष्ट सहभागीलाई पुरस्कार र आयोजक संस्थाको धन्यवाद मन्तव्य प्रस्तुत गरिएको थियो। तालिमको सफल आयोजनामा देवघाट गाउँपालिका, शिक्षक, र देवघाटधाम जेसीजका सदस्यहरुको सक्रिय भूमिका रहेको थियो।