लहान, असार ७ — लहान सिटी जेसीजको आयोजनामा तथा बरियारपट्टी गाउँपालिकाको सौजन्य, रुइट फाउन्डेसनको वित्तीय सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा श्री जनता माध्यमिक विद्यालय, बरियारपट्टी गा.पा.–३ मा एक दिवसीय नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
शिविरको अध्यक्षता लहान सिटी जेसीजका अध्यक्ष जेसी देवन लाल ठाकुरले गर्नुभयो। प्रमुख अतिथिका रूपमा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतो तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष ममता कुमारी यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं. १, २, ३, ४, र ५ का वडाध्यक्षहरू, स्वास्थ शाखा प्रमुख राम जुलुम मण्डल, र शिविर संयोजक सगरमाथा चौधरी आँखा अस्पतालका राज कुमार यादव लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
शिविरमा जम्मा १६० जनाको आँखा परीक्षण गरिएकोमा ६१ जना बिरामीलाई शल्यक्रिया आवश्यक रहेको पाइयो। १५ जना बिरामीहरूलाई चश्मा वितरण गरिएको छ भने शल्यक्रिया खर्च नि:शुल्क राखिएको आयोजकले जानकारी दिएका छन्। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
लहान सिटी जेसीजका अध्यक्ष ठाकुरले समुदायप्रति जिम्मेवारी वहन गर्दै यस्ता सामाजिक अभियानले आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै गा पा अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, शिविर संयोजक, सम्पुर्ण अस्पताल परिवार, लहान सिटी जेसीज का सम्पुर्ण बोर्ड पदाधिकारीहरु लगायत सम्पुर्ण उपस्थित महानुभावहरुमा हार्दिक धन्यवाद गर्दै कार्यक्रमको समापन भएको थियोे ।