त्रिभुवननगर जेसीज “अनुभव र नेतृत्व : पूर्व अध्यक्षहरुसँग सदस्य” विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न

2025-09-27
त्रिभुवननगर जेसीजले “अनुभव र नेतृत्व : पूर्व अध्यक्षहरुसँग सदस्य” विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावतको अध्यक्षता र सन् १९९० का अध्यक्ष खगराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाले हालसम्म सञ्चालन गरेका गतिविधि, भोगेका चुनौती र भविष्यका सम्भावनाहरू समेटिएको विशेष कार्यपत्र प्रस्तुत गरिएको थियो। अध्यक्ष रावतले संस्थाको निरन्तर सक्रियता, नेतृत्व विकासमा भएको योगदान र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त कार्यक्रम अघि बढाइने बताए।
कार्यक्रमका प्रमुख अतिथि खगराज पाण्डेयले जेएनजेड आन्दोलन सन्दर्भमा बोल्दै, त्यसले सशक्त कार्यदिशा दिएको भए पनि यसको समापन प्रभावकारी हुन नसकेको बताए। उनले भने, “देश समृद्धितर्फ लैजान अब सबै पुस्ताबीच सहकार्य अपरिहार्य छ। नेतृत्व हस्तान्तरणका लागि हामीले मार्ग प्रशस्त गर्नुपर्छ र युवा पुस्तालाई विश्वास गर्न सिक्नुपर्छ।”
पूर्व अध्यक्षहरूमध्ये नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्य, भोलानाथ अधिकारी, कुमारराज श्रेष्ठ, सनत श्रेष्ठ, ओविन्द्र बहादुर महरा, पुष्पराज आचार्य, विमल श्रेष्ठ, दीपक शर्मा लगायतले आ–आफ्नो कार्यकालका अनुभव, भोगाइ र त्यसबाट सिकाइबारे मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम र वर्तमान अध्यक्ष अनिता ढकालले पनि नेतृत्व विकास, महिला सहभागिता र संगठनको भूमिकामाथि प्रकाश पारेका थिए।
कार्यक्रममा जेएनजेड आन्दोलनका क्रममा त्रिभुवननगर जेसीज सचिवालयमा भएको भौतिक आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै, पूर्व अध्यक्ष ओविन्द्र बहादुर महराको निजी सम्पत्तिमा गरिएको आगजनी तथा लुटपाटको घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आह्वान गरिएको थियो।
कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीजका महासचिव कृष्णदेव थापाले गर्नुभएको थियो।
कार्यक्रमले त्रिभुवननगर जेसीजको ऐतिहासिक यात्रा, नेतृत्वको निरन्तरता र सामाजिक योगदानमाथि गम्भीर पुनरावलोकन गर्दै आगामी दिनको मार्गचित्र तय गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।
JCI News Archive