लहान सिटी जेसीजद्वारा महिला स्वास्थ्य सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न, १०० भन्दा बढी महिला लाभान्वित

2025-10-08

लहान सिटी जेसीजको आयोजनामा "महिला स्वास्थ्य सम्बन्धि सचेतना तथा सेनेटरी प्याड वितरण कार्यक्रम" लहान-८ स्थित रौनियार सेवा सदनमा भव्यताका साथ सम्पन्न भएको छ। लहान नगरपालिका वडा नं. ८ को सौजन्य तथा मेरी स्टोप्स, लहानको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा जेसीजका बोर्ड पदाधिकारी, पूर्व अध्यक्षहरू, पत्रकार लगायत विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि, लहान नगरपालिका वडा नं. ८ का अध्यक्ष श्याम कुमार साह भोरेभोरले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह गर्दै यस्ता कार्यक्रमले समाजमा व्याप्त संकोच तोड्न मद्दत पुऱ्याउने बताउनुभयो। उहाँले यस्ता सामाजिक हितका कार्यमा वडा कार्यालयले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षण विशेषज्ञ चिकित्सकहरूद्वारा प्रदान गरिएको प्रशिक्षण थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहायक प्राध्यापक तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कविता शाह र लहानस्थित ओम पोलिक्लिनिककी स्त्री रोग विशेषज्ञ डा. गीता यादवले महिनावारी स्वच्छता, पाठेघर र स्तन क्यान्सर, पोषण तथा अन्य स्त्रीरोग सम्बन्धी समस्याबारे विस्तृत जानकारी दिनुभयो।

त्यसैगरी, सुनौलो परिवार नेपाल, लहानका क्लिनिकल क्वालिटी अफिसर (CCO) सरोज श्रेष्ठ र डीजीसी राकेश कुमार साहले सुनौलो परिवार नेपाल अन्तर्गत सञ्चालित मेरी स्टोप्स सेन्टरले प्रदान गर्ने सेवा-सुविधा र परिवार नियोजनका स्थायी तथा अस्थायी साधनहरूबारे प्रशिक्षण दिनुभएको थियो। उहाँहरूको प्रस्तुतिले महिलाहरूलाई परिवार नियोजन र सुरक्षित मातृत्वसम्बन्धी महत्त्वपूर्ण जानकारी प्राप्त भएको थियो।

कार्यक्रममा सहभागी १०० भन्दा बढी महिलाहरूले स्वास्थ्यसम्बन्धी आफ्ना जिज्ञासाहरू सिधै डाक्टर तथा स्वास्थ्यकर्मीहरूसँग राख्ने अवसर पाएका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित महिलाहरूलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो।

कार्यक्रमका अध्यक्षता ग्रहण गरेका लहान सिटी जेसीजका वर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरले जेसीजले युवाहरूको नेतृत्व विकासका साथै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले कार्यक्रमको औचित्य र उपलब्धिबारे प्रकाश पार्दै भन्नुभयो, "स्वस्थ महिला नै स्वस्थ समाजको आधार हो। १०० भन्दा बढी दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको भन्नुभयो ।"

कार्यक्रमको समापन समारोहमा अध्यक्ष जेसी देवन लाल ठाकुरद्वारा प्रमुख अतिथि श्याम कुमार साह, प्रशिक्षक डाक्टरहरू, र सुनौलो परिवार नेपालका प्रतिनिधि सरोज श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो। आफ्नो अध्यक्षीय मन्तव्यको क्रममा ठाकुरले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी निकाय, अतिथि, सहभागी तथा कार्यसमिति सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

लहान सिटी जेसीजका महासचिव जेसी बम चन्द्र चौधरीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको संयोजकत्व महिला विकास संयोजक जेसी प्राची साहले गर्नुभएको थियो।

JCI News Archive