लेखनाथ जेसीजद्वारा निशुल्क आँखा शिविर सम्पन्न : १६० भन्दा बढीले पाए स्वास्थ्य सेवा

2025-11-15

लेखनाथ जेसीजले समुदायमा आँखा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले रुपा गाउँपालिका वडा नं. ३, वडा कार्यालय परिसरमा आयोजना गरेको निशुल्क आँखा शिविर कार्यक्रम मिति २०८२ कार्तिक २९ गते, शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

“आँखा परीक्षण गरौँ, दृष्टि बचाऔँ” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा हिमालयन आँखा अस्पताल, पोखराले प्राविधिक सहयोग प्रदान गरेको थियो भने रुपा गाउँपालिका, कास्कीको सहकार्य रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ब्यानरमा हस्ताक्षर गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँपालिका जनमैत्री स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उक्त अवसरमा लेखनाथ जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का M TOT Coordinator जेसी प्रकाश राइभाट, हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत सुबास नेपाल, रुपा गाउँपालिका वडा नं. ३ वडाध्यक्ष दिपेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक जेसी कमल गौतमले अतिथी तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

शिविरमा स्थानीयबासिन्दाहरूको दृष्टि परीक्षण, मोतीबिन्दु पहिचान तथा निःशुल्क शल्यक्रिया व्यवस्थापन, औषधि उपचार, चश्मा वितरण तथा आँखा सरसफाइसम्बन्धी सल्लाह सहितका सेवा प्रदान गरिएको थियो।

आयोजकका अनुसार १६० भन्दा बढी व्यक्तिले प्रत्यक्ष लाभ लिएका थिए। सेवा लिएका सर्वसाधारणले गाउँमै बसेर प्रत्यक्ष विशेषज्ञ सेवा पाउन पाएकोमा खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा जेसिज आस्थापाठको अगुवाइ लेखनाथ जेसीजका सदस्य जेसी विश्वास बरालले राख्नु भएको थियो । शिविरको सञ्चालन लेखनाथ जेसीजका महासचिव जेसी सर्वेन्द्र न्यौपानेले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य सहितको समापन अध्यक्ष जेसी कृष्ण तिवारीले गर्नुभएको थियो।

समुदाय–केन्द्रित सामाजिक सेवा मुख्य उद्देश्य रहेको लेखनाथ जेसीजले आगामी दिनहरूमा अझ प्रभावकारी स्वास्थ्य तथा जनकल्याणमूलक कार्यक्रमहरू निरन्तर आयोजन गर्ने जनाएको छ।


JCI News Archive