जेसीज सप्ताहको चौथो दिन ः कम्प्युटर मर्मत तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

2025-11-24

पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत चौथो दिन शैक्षिक प्रविधिको पहुँच विस्तार र विद्यालयस्तरमा प्राविधिक सीप अभिवृद्धि गर्ने उद्देश्य सहित कम्प्युटर मर्मत तथा सामग्री हस्तान्तरण कार्यक्रम श्री नारायण माध्यमिक विद्यालय, कुस्मा पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कुस्मा नगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र के.सी.को सम्मानित उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो । विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल, सहायक प्रधानाध्यापक विनोद सुवेदी, १९९८ का अध्यक्ष बसन्तकुमार कर्माचार्य, पूर्व अध्यक्षहरू, २०२५ वोर्डका सदस्यहरु शिक्षकहरु, लगायतका सरोकारवालाहरूको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो ।

कार्यक्रम संयोजक जेसी पवन श्रेष्ठले स्वागत मन्तव्य दिँदै विद्यालयमा प्राविधिक पहुँच विस्तार, प्रयोगात्मक ज्ञान र डिजिटल सिकाइ वातावरण निर्माणमा जेसीजको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम्प्युटर मर्मत तथा सामग्री हस्तान्तरण केवल वितरण मात्र नभई विद्यार्थीको भविष्यमा लगानी भएको उल्लेख गर्नुभयो ।

सप्ताहको मुख्य संयोजन जेसी शर्मिला शर्माले कुशलतापूर्वक सम्हाल्नुभएको थियो भने कार्यक्रम महासचिव जेसी प्रवेशराज पुरीले सम्पूर्ण कार्यक्रमलाई सुव्यवस्थित र अनुशासित ढङ्गले अघि बढाउनुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले शैक्षिक संस्था सशक्तिकरण र डिजिटल सीप विकास जेसीजको प्राथमिकता रहेको बताउँदै विद्यालयसँगको साझेदारीले विद्यार्थीहरूमा आत्मविश्वास, सीप र भविष्यको अवसर निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबै प्रति आभार प्रकट गर्नुभयो । यस कार्यक्रमले जेसीज सप्ताहले लक्ष्य राखेको युवा सशक्तिकरण, सीप विकास र समुदायमा प्रत्यक्ष प्रभाव पार्ने परियोजनाहरूलाई थप सुदृढ बनाएको पर्वत जेसीजले जनाएको छ ।


JCI News Archive