भेरीगङ्गा जेसीजद्वारा छिन्चु बजारमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

2026-01-10

छिन्चु, सुर्खेत
२०८२ पौष २६
भेरीगङ्गा जेसीज वर्ष २०२६ को आयोजनामा भेरीगङ्गा नगरपालिकाको मुख्य व्यापारिक केन्द्र छिन्चु बजारमा शनिबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
भेरीगङ्गा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी श्याम बहादुर परियारको अध्यक्षता तथा जेसी जनक शर्माको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो। बजारलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न संघ-संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्स क्लब, सामुदायिक प्रहरी, इलाका प्रहरी कार्यालय छिन्चु, भेरी उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर साकोसका प्रतिनिधिहरूको सहकार्य रहेको थियो। 'स्वच्छ शहर, हाम्रो रहर' भन्ने भावनाका साथ सहभागीहरूले बजार क्षेत्रको फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए।
समापनका अवसरमा अध्यक्ष परियारले सामाजिक उत्तरदायित्व वहन गर्दै बजार सरसफाइमा सहयोग गर्ने सम्पूर्ण संघ-संस्था र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्नुभयो।


JCI News Archive