चारआली जेसिजको ‘भ्यालेन्टाइन डे’ वृद्ध दम्पतीसँग

2022-02-14

१४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन भएपनि चारआली जेसिजले भने प्रणय दिवसलाई भिन्न तरिकाले मनाएको छ ।
जेसिजले ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर अर्जुनधारा नगरपालिका वडा नं १० भद्रकाली टोल बस्ने राजकुमार विश्वकर्मा र अप्सरा विश्वकर्मालाई खाद्यान्न सहयोग गरेको छ ।
चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को नेतृत्वमा गएको टोलीले विश्वकर्मा दम्पतीको घरमै पुगेर तेल, चामल, दाल, बिस्कुट, तरकारी, मटर, चना र नुन सहयोग गरेको हो ।
सो अवसरमा ७४ वर्षीय राजकुमार विश्वकर्माले ६२ वर्षीय श्रीमती अप्सरा विश्वकर्मालाई गुलाफको फूल दिएर एक अर्कामा माया साटासाट गरेका थिए ।
उक्त सहयोग कार्यक्रममा चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, वर्ष २०१६ का अध्यक्ष तिर्थ घिमिरे, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला, वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपाने, किआनिज झापाका अध्यक्ष सुन्दर लावती, बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


JCI News Archive