जेसीआई त्रिभुननगरका ३६ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

2020-05-24

  दाङ जेष्ठ २ । दाङको घोराहीमा अवस्थित जेसीआई त्रिभुवननगरले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ ।
रक्तदान कार्यक्रम
  लकडाउनको अवस्थामा रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले विहान ८ः३० बजेदेखि जेसीज सचिवालयमा रक्तसञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनका बीच जेसीआई त्रिभुवननगरको यो तेस्रो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान नै जीवन दान हो भन्ने मूल नारालाई आत्मसाथ गर्दै जेसीआई त्रिभुवननगरले बारम्बार रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ । रक्तदान कार्यक्रममा ५० बढी युवाहरुले रक्तदान गरेका थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम
  जेसीआई त्रिभुवननगरको गौरवमय ३६ औं स्थापना दिवसका अवसरमा अनलाईन मार्फत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । जेसीआई त्रिभुवननगरका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता तथा जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्षेत्र ‘घ’का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय महासचिव टेकराज रेग्मी, जेसीआई त्रिभुवननगरका पूर्व अध्यक्ष तथा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, जेसीआई त्रिभुवननगरका पूर्व अध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु, सदस्यहरु, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंंघ दाङका अध्यक्ष सविन प्रियासनलगायत जेसीआई त्रिभुवननगरका शुभचिन्तकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जेसीआई त्रिभुवननगरले समाजमा खेलेको महत्वपूर्ण भूमिका तथा युवाहरुलाई संगठीत गर्दै उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा गरेको योगदानका बारेमा चर्चा भएको थियो । वक्ताहरुले समाजमा परेको विषम संकटलाई मध्यनजर गर्दै अग्रपंक्तिबाट विशुद्ध सेवाभावले जेसीआई त्रिभुवननगरले निर्वाह गरेको भूमिका, राहत संकलन तथा वितरणलगायतका कार्यक्रमहरुको मुक्तकंठले प्रशंसा गरेका थिए । जेसीआई त्रिभुवननगरका कार्यकारिणी उपाध्यक्ष टंक रावतको स्वागत मन्तव्यबाट शुरु भएको शुभकामना आदान प्रदान कार्यक्रमको सहजीकरण महासचिव मिनराज भाटले गर्नुभएको थियो ।

JCI News Archive