हेटौडा जेसीजको आयोजनामा भएको अष्टकुमारी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज वीरगन्ज, पर्साले उचालेको छ।

2024-03-12

अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज वीरगन्ज, पर्साले जितेको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा ४ स्थित हुप्रचौरमा सम्पन्न फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई ४ विकेटले पराजित गर्दै वीरगन्जले अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन भएको हो ।फाइनलमा पहिला व्याटिङ गर्दै म्यानेजमेन्टले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो । म्यानेजमेन्टका लागि युविन बुढाथोकीले ४९ रनको योगदान गरेका थिए । जवाफी व्याटिङ गरेको वीरगन्जले १९.१ ओभरमा ६ विकेट गुमाएर १२१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । वीरगन्जको तर्फबाट मन्थन यादवले सर्वाधिक ४३ रन जोडेका थिए । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।

प्रतियोगितामा वीरगन्जका मन्थन यादव सर्वोत्कृष्ट खेलाडी घोषित भए । नारायणी कलेज हेटौंडाका बलर अस्मितकुमार मण्डल र व्याटर युविन बुढाथोकी उत्कृष्ट घोषित भए । उनीहरुलाई नगदसहित सम्मानित गरिएको थियो ।

उपाधिसँगै प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले २५ हजार रुपैयाँ नगद हात पारेको हो । विजेता तथा उपविजेता, सर्वोत्कृष्ट खेलाडी, बलर तथा ब्याटरलालाई आयोजक हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठ एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा आगामी वर्षबाट सहभागी टिमको संख्या बढाउँदै पुरस्कार राशिमा समेत वृद्धि गर्ने योजना रहेको कार्यक्रम संयोजक सुमन अर्यालले जानकारी दिए ।

JCI News Archive