पर्वत, फागुन – वसन्त ऋतुको आगमनसँगै प्रकृति हराभरा र रङीन बन्दै गर्दा पर्वत जेसीजले फागु पूर्णिमाको अवसर पारेर होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। रङ, उमंग र आपसी सद्भावको प्रतीक यस पर्वलाई संस्थाले मेलमिलाप, सहकार्य र सामाजिक ऐक्यबद्धताको अवसरका रूपमा मनाएको हो। कार्यक्रमका प्रमुख अतिथि पर्वत जेसीज अध्यक्ष क्लब पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा रहनुभएको थियो। उहाँले पर्वत जेसीजले सामाजिक कार्यमा देखाएको सक्रियता र युवा सशक्तीकरणका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको प्रशंसा गर्दै युवाहरू सकारात्मक सोचका साथ समाजसेवामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभापति एवं पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले विगतका वर्षहरूमा जस्तै यस पटक पनि होली मिलन कार्यक्रम आयोजना गरिएको बताउँदै यस कार्यक्रमले जेसीज परिवारमा एकता, आत्मीयता र सद्भाव बढाएको उल्लेख गर्नुभयो। साथै, उहाँले जेसीजले युवा सशक्तीकरण, समाज विकास तथा रुपान्तरणका लागि विभिन्न सकारात्मक र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।
त्यस्तै, संस्थाका पूर्व अध्यक्षहरू बसन्त कुमार कर्माचार्य, शिवप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमका अवसरमा पर्वत जेसीजका पूर्व अध्यक्षहरूको उपस्थितिमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच शुभकामना आदान-प्रदान गरिएको थियो।
पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मण बी.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियो।
रङ, प्रेम र ऐक्यबद्धताको यस उत्सवले समाजमा मेलमिलाप, सहकार्य र सकारात्मक ऊर्जा प्रवाह गरोस् भन्ने कामनासहित कार्यक्रम उल्लासमय रूपमा सम्पन्न भएको थियो।
होली पर्वको हार्दिक मंगलमय शुभकामना!