माघ । सन् २०२१ का लागि भद्रपुर जेसीजको अध्यक्षको पदभार खिलनाथ पाण्डे निकाशले लिएका छन् । सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेलले नव निर्वाचित अध्यक्ष पाण्डेलाई पदीय दायित्व हस्तान्तरण गरेपछि पदभार लिएका हुन् ।
नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन प्रसाईको प्रमुख आतिथ्य तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको विशेष आतिथयमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।
विभिन्न सामाजिक संघ सस्थाको कुशल नेतृत्व गरेका पाण्डेले जेसीज अभियानका लागि भद्रपुर जेसीजको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
विभिन्न सामाजिक संघ संस्थामा आबद्ध पाण्डेले भद्रपुरको समृद्धिका लागि युवा शक्तिको सोच परिचालन अपरिहार्य रहेको धारणा राख्दै समाज सेवामा भद्रपुर जेसीजलाई कृयाशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी भद्रपुर जेसीजको २ कार्यकारी उपाध्यक्षका लागि रमेश कार्की, आरिफ अली निर्वाचनबाट विजयी भएका थिए भने ४ उपाध्यक्षमा रविन कार्की, शैलेस श्रेष्ठ, एकराज भट्टराई र अभिषेक प्रधान विजयी भएका थिए । त्यसैगरी अध्यक्ष पाण्डेले महासचिवमा मनोज भट्टराई, कानुनी सल्लाहकारमा दिपक पाण्डे, कोषाध्यक्ष जेसी युवराज न्यौपाने, संयोजकमा शेखर बुढाथोकी, प्राविधिक संयोजकमा प्रकाश भट्टराईलाई मनोनयन गरेर पदीय जिम्मेवारी बााडेका छन् ।