देवघाटधाम, तनहुँ
प्रकृति, संस्कृति र सभ्यताको संरक्षण तथा आध्यात्मिक चेतनाको जागरण गर्ने उद्देश्यले देवघाटधाम वेणीसंगमदेखि मुस्ताङको दामोदरकुण्डसम्मको ४३१ किलोमिटर लामो “कालिगण्डकी पदयात्रा” आजबाट औपचारिक रूपमा शुभारम्भ भएको छ।
“प्रकृति, संस्कृति र सभ्यताको आराधना – कालिगण्डकी पदयात्रा एक आध्यात्मिक साधना” भन्ने मूल नाराका साथ सुरु गरिएको यस ऐतिहासिक पदयात्राको नेतृत्व महेश संस्कृत गुरुकुल, देवघाटधामका आचार्य तथा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक फणिन्द्र प्रसाद पौडेलले गरिरहनुभएको छ।
यस पदयात्रामा सहभागीहरूले करिब २२ देखि २५ दिनको अवधिमा देवघाटधाम हुँदै विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थलहरू पार गर्दै मुस्ताङस्थित दामोदरकुण्डमा समापन गर्ने कार्यक्रम रहेको छ। यात्राका क्रममा विभिन्न स्थानहरूमा धर्म, योग, ध्यान, वातावरणीय सचेतना, नदी संरक्षण, आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ।
कार्यक्रमको शुभारम्भ समारोहमा देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकालले कालिगण्डकी नदीको धार्मिक, ऐतिहासिक तथा पारिस्थितिकीय महत्वमाथि प्रकाश पार्दै यस्तो यात्राले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
“कालीगण्डकी केवल एक नदी नभई हाम्रो संस्कृति, सभ्यता र अध्यात्मको मूल स्रोत हो। यसको संरक्षण आजको आवश्यकता हो। यो पदयात्राले वर्तमान पुस्तालाई आफ्नो संस्कृति, प्रकृति र आध्यात्मिक सम्पदाप्रति उत्तरदायी बन्न प्रेरणा दिनेछ।”
संयोजक फणिन्द्र प्रसाद पौडेलले पदयात्रालाई केवल धार्मिक वा सांस्कृतिक पक्षमा मात्र नभई प्राकृतिक स्रोतको संरक्षण, जलवायु सचेतना, स्थानीय जनजीवनको अध्ययन र अध्यात्मिक उन्नतिको माध्यमको रूपमा प्रस्तुत गर्नुभएको छ।
उक्त पदयात्रामा विभिन्न जिल्लाबाट धर्म, दर्शन, संस्कृत, शिक्षा, समाजसेवा र युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। आयोजक समूहले यात्रालाई व्यवस्थित र उद्देश्यपरक बनाउन स्थानीय सरकार, धार्मिक संस्था, शिक्षा प्रतिष्ठान र स्वयंसेवी संघ–संस्थाहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ।
पदयात्राको मार्गमा पर्ने मुख्य स्थलहरूमा सामुदायिक सहभागिता, सफाइ अभियान, धार्मिक संवाद तथा सांस्कृतिक आदान–प्रदानका कार्यक्रम पनि समावेश गरिने जनाइएको छ। यसले कालिगण्डकी नदीको अझ प्रभावकारी बनाउने प्रयास भइरहेको संयोजक पौडेलले जानकारी दिनुभयो।
कालिगण्डकी पदयात्रा नेपालको आध्यात्मिक पर्यटन र वातावरणीय चेतनालाई समेट्ने महत्वपूर्ण पहलको रूपमा लिइएको छ। यसले पर्यावरण, संस्कृतिको जगेर्ना तथा आध्यात्मिक समृद्धिमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ।
पदयात्राको शुभारम्भमा देवघाटधाममा रहेका आश्रमहरुका मठाधिस ,सन्त, देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, देवघाटधाम जेसीजका पदाधिकारीहरु, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।