तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै

2024-11-08


तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै

पाल्पा, तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबार पाल्पा दरबार संग्राहालय परिसरमा स्थानीय सरकार र युवाबिच खुला बहस हुन लागेको हो । 

जेसिजले मंगलबार पत्रकार सम्मेलन  गरी कार्यक्रमबारेमा जानकारी गराएको छ । जेसिजका जिल्ला अध्यक्ष जेसी अर्जुन कार्कीले स्थानीय सरकारसँग सवाल, नीति निर्माणका लागि आधार तयार गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक खुला बहस कार्यक्रम गर्न लागिएको बताए । उनले भने ‘स्थानीय तह र युवाबिच विकासका गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउन, युवा र जनप्रतिनिधिबिच दुरी कम गराउन जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम सञ्चालनको वातावरण निर्माण गराउन बहस सञ्चालन गर्न लागेका हौं ।’ कार्यक्रममा युवाहरुले आफ्ना स्थानीय तहका प्रमुखहरुसँग प्रत्यक्ष संवाद गर्ने वातावरण निर्माण गरिने  अध्यक्ष कार्कीले बताए । बहसमा युवाले पालिकाको युवा लक्षित कार्यक्रम सहित समग्र क्षेत्रका विकासका गतिविधि बारे खेलेको भूमिका बारे विचार राख्ने ऐतिहासिक अवसर प्राप्त  हुने जनाइएको छ । 
बहस कार्यक्रममा पाल्पा क्षेत्र नं. २ मा रहेका पालिका प्रमुखहरु सहभागी हुने छन् ।  जसले युवाहरुको प्रश्नको जवाफ दिने अध्यक्ष कार्कीले बताए ।  कार्यक्रममा  पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले जेसिजले सञ्चालन गर्न लागेको बहस कार्यक्रम रचनात्मक र सिर्जनात्मक रहेको बताए । उनले स्थानीय सरकारलाई युवा र आम जनताप्रति जागरुक गराउन बहस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अध्यक्ष रानाले बहसमा जिम्मेवारीपूर्व प्रश्न सोध्ने वातावरण सिर्जना गर्न जेसिजलाई आग्रह समेत गरे ।  

बहस कार्यक्रममा वार्षिक युवा लक्षित कार्यक्रमको अवस्था, त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेशबाट फर्किएका युवाहरुको व्यवस्थापन, विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले गरेका काम र भावि योजना र पालिका प्रमुखहरुको प्रतिवद्धता समेत लिइने छ । बहसमा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठसँग युवाहरुले प्रश्न सोध्ने छन् । सहभागी पालिका प्रमुखहरुले युवाहरुको सुझाव र अपेक्षाहरुलाई सम्बोधन गर्दै समाजका विभिन्न क्षेत्रहरुमा सुधारका लागि ठोस योजना र पहलहरु बारे स्पष्ट पार्ने छन् । उक्त कार्यक्रमको सञ्चारकर्मी श्री पाण्डेले सहजीकरण गर्ने जेसिजले जनाएको छ । जेसिजका जिल्ला अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, कार्यकारी उपाध्यक्ष जेसी गणेश पन्थीको स्वागत, महासचिव जेसी विजय कार्कीको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
JCI News Archive