मजदुरहरुकाे भोक मेटाउँदै त्रिभुवननगर जेसीज : घोराहीका २ हजार परिवारलाई राहत बितरण

2020-05-24

चौतर्फि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहँदा दाङका युवाहरु भने स्थानीयहरुलाई भोकमुक्त बनाउने अभियानमा जुटेका छन् । त्रिभुवननगर जेसीजमा संलग्न युवाहरु घोराही उपमहानगरपालिकाका गाउँगाउँमा पुगेर स्थानीयहरुलाई राहत बितरण गर्दै आएका छन् ।

घोराही उपमहानगरपालिकासँग समन्वय गरेर परिवारलाई खाद्य सामग्री बितरण गरेको त्रिभुवननगर जेसीजका महासचिव मिनराज भाटले जानकारी दिनुभयो । ‘उपमहानगरपालिकाका वडानम्वर ५, १३,१४,१५,१६,१७ र १८ का २ हजार बढी परिवारलाई चामल, दाल, तेल, साबुनलगायतका सामग्री बितरण गरेका छौं’, महासचिव मिनराजले भन्नुभयो, ‘त्रिभुवननगर जेसीजले राहत बितरणको कार्यलाई अझै निरन्तरता दिनेछ । बाँकी वडाबासीहरुलाई राहत बितरण गर्नेछौं ।’

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन सुरु गर्दा ज्यालादारीमा काम गर्ने परिवारमा भोकमरीको समस्या बढेको जानकारी पाएपछि राहत बितरणको कार्य सुरु गरेको भन्दै त्रिभुवननगर जेसीजका तालिम निर्देशक रोशन दाहालले उक्त कार्यलाई अझै निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।

स्थानीयहरुलाई भोकमुक्त बनाउने मात्रै नभई त्रिभुवननगर जेसीजले कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरेको महासचिव मिनराजले जानकारी दिनुभयो । दाङ खबरसँगको कुराकानीमा महासचिव मिनराजले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई मास्क, सेनिटाइजर, पञ्जा बितरण गरेको जानकारी दिनुभयो ।

संकटको समयमा त्रिभुवननगर जेसीजले सहयोगी भूमिका निर्वाह गर्दै आएको भन्दै महासचिव मिनराजले लकडाउनको समयमा अलपत्र परेका यात्रीहरुलाई जेसीज सचिवालयमा बास बस्ने व्यवस्था मिलाएको बताउनुभयो । लकडाउनको समयमा जिल्लामा रगतको अभाव हुँदा उपचारमा समस्या भएको भन्दै महासचिव मिनराजले रक्तसञ्चार केन्द्रलाई ६० पोइन्ट रगत उपलब्ध गराएको जानकारी दिनुभयो ।

वडानम्वर ५ को दुर्गम बस्तीमा राहत बितरण


यसैबीच त्रिभुवननगर जेसीजले सोमबार घोराही–५ को दुर्गम गाउँ सिदुरी बसेरीका ३५ घर परिवारलाई राहत बितरण गरेको छ । वडानम्वर–५ का वडाध्यक्ष विष्णुमणि दाहाल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी र त्रिभुवननगर जेसीजका महासचिव मिनराज भाटले स्थानीयहरुलाई चामल, नुन र सावुन बितरण गर्नुभएको थियो ।


JCI News Archive