स्वास्थ्य शिविरमा सर्वसाधारणको भीड, तीन सयले लिए सेवा

2021-01-30

तनहुँ, १६ माघ– शुक्लागण्डकी जेसिजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासंगको सहकार्य र शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा विहिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
थप्रेक स्वास्थ्य चौकीमा भएको शिविरमा दुई सय १४ जनाले आखा परिक्षण गराएको शुक्लागण्डकी जेसिजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये ५ जनामा मोतियाविन्दुको समस्या पाईएपछि निशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ‘हिमालयन आखा अस्पतालमा घारीपाटन पोखरामा शल्क्रियाका लागी पठाएका छौँ’, उहाँले भन्नुभयो । उहाँका अनुसार ८६ जनाले हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोजी लगायतको सेवा लिए । ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई मध्यजनर गर्दै शिविर चलाएको उहाँको भनाई छ ।
हिमालयन आखा अस्पतालका विशेषज्ञ डाक्टरले आखा परिक्षण र चरक मेमोरिय हस्पिटल पोखराका विशेषज्ञ डाक्टरले अन्य सेवा दिएका हुन् । शिविरमा स्वास्थ्य परिक्षण गराएकालाई निशुल्क औषधी समेत वितरण गरिएको छ ।
स्वास्थ्य शिविरको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले गर्नुभएको हो । उहाँले ग्रामिण भेगका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो ।
करिब दुई दशक लामो इतिहास बोकेको शुक्लागण्डकी जेसिजले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । यो बर्ष शुक्लागण्डकीका प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।

JCI News Archive