पर्वत जेसीज सप्ताहको–२०२५ पहिलो दिन विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना

2025-11-15
युवा नेतृत्व, सीप विकास र समुदाय सेवा केन्द्रित पर्वत जेसीज सप्ताह–२०२५ आज एक विशेष समारोहका बीच भव्यताका साथ सुभारम्भ भएको छ । सप्ताहको पहिलो दिन विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ सहभागी विद्यार्थीहरूले पर्वत जेसीज २०२५ को प्रकरण “सीप र सम्भावना : नयाँ युगको सुरुवात” विषयमा प्रस्तुत गरेको वक्तृत्व, आत्मविश्वास र विश्लेषणात्मक दृष्टिकोणले सम्पूर्ण उपस्थितिहरूलाई मन्त्रमुग्ध बनायो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका उप–सचिव राजेन्द्र बहादुर क्षेत्री र विशिष्ट अतिथि कुस्मा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र के.सी. को उपस्थितिले उद्घाटन समारोहलाई थप गरिमामय बनाएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुखहरू, विद्यालयका शिक्षक–शिक्षिका, निर्णायक मण्डल, साथै पर्वत जेसीजका पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थितिले कार्याक्रमलाई ऊर्जाशील र प्रेरणादायी बनाएको थियो । अध्यक्ष क्लबका अध्यक्ष निर्मल विश्वकर्मा तथा पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा सहितका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई संस्थागत पहिचान र सामुदायिक समर्थन दुवै दृष्टिले महत्वपूर्ण प्रभाव प्रदान गरेको थियो ।
सप्ताहको मूल संयोजनको जिम्मेवारी जेसी शर्मिला शर्माले सम्हाल्दै कार्यक्रमलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले सफलतापूर्वक अघि बढाउनु भयो । कार्यक्रमको सञ्चालन महासचिव जेसी प्रवेशराज पुरीले गर्नभएको थियो भने स्वागत मन्तव्य कानुनी सल्लाहकार अमृत प्रसाद पोखरेलले गर्नभएको थियो ।
प्रतियोगितामा सफलता प्राप्त गर्ने प्रतिभाहरू आर्दश आ.मा.वि का शुभम पौडेल प्रथम, नारायण मा.वि का सन्तोष पौडेल द्वितीय, नमुना आ.मा.वि का छात्रा सजता गिरी तृतीय तथा काफलचौर मा.वि.का अभिषेक गिरी सान्त्वना विधामा सम्मानित हुनुभयो । निर्णायक मण्डलका अनुसार सहभागी विद्यार्थीहरूको प्रस्तुति स्तरीय, प्रतिस्पर्धात्मक र गहन अभिव्यक्ति–कौशलयुक्त रहेकाले निर्णय चुनौतीपूर्ण बनेको थियो । विजयी प्रतिभाहरूमाथि पर्वत जेसीजले हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको भविष्यको यात्रामा निरन्तर प्रगतिका शुभकामना व्यक्त गर्दछौ. ।
कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले अतिथि, विद्यालय, प्रेस, सहभागी विद्यार्थीप्रति आभार व्यक्त गर्दै जेसीज सप्ताह कुनै साधारण कार्यक्रम नभई युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्तो कार्यक्रमले युवालाई अभिव्यक्ति मात्र होइन, दिशानिर्देशन र भविष्य निर्माणतर्फ अघि बढ्ने प्रेरणासमेत प्रदान गर्दछ ।
पर्वत जेसीजले एक वर्षका योजनाहरूलाई मूर्त रूप दिने उद्देश्यसहित सञ्चालनमा ल्याएको सप्ताहभित्र स्वास्थ्य सचेतना, खेलकुद, डिजिटलीकरण, क्षमता विकास, सामाजिक सेवा तथा समुदायका अन्य कार्यक्रमहरू क्रमिक रूपमा अघि बढ्ने जनाइएको छ । उद्घाटन दिनको सफलताले आगामी दिनहरू अझ ऊर्जा, उत्साह र उद्देश्यपूर्ण कार्यसम्पादनका साथ सम्पन्न हुने विश्वास व्यक्त गरेका छौ ।
JCI News Archive