प्रतिनिधि सभा निर्वाचन २०८२ मा हेल्प डेस्क सञ्चालन

2026-03-05

प्रतिनिधि सभा निर्वाचन २०८२ का अवसरमा देवघाटधाम जेसीजले तनहुँ क्षेत्र नं १ देवघाट गाउँपालिका–५ तनहुँ स्थित श्री बज्रयोगिनी माध्यमिक विद्यालय केन्द्रमा मतदातालाई सहयोग पुर्‍याउने उद्देश्यले हेल्प डेस्क सञ्चालन गरेको छ। हेल्प डेस्कमार्फत मतदातालाई मतदान प्रक्रिया सम्बन्धी जानकारी दिने, मतदान केन्द्र पहिचान गर्न सहयोग गर्ने तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण गर्ने कार्य गरिएको थियो।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नागरिकको अधिकार तथा कर्तव्य दुवै भएकोले सचेत र सक्रिय सहभागिताले मात्र लोकतन्त्र सुदृढ हुने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो। नागरिकलाई मतदान प्रक्रियाबारे जानकारी दिनु तथा सहज वातावरण सिर्जना गर्न सहयोगी संस्थाको महत्वपूर्ण जिम्मेवारी देवघाटधाम जेसीजले बहन गरेको छ ।

कार्यक्रममा देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदी, निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल, पूर्व अध्यक्षहरू जेसी रघु मल्ल र जेसी विष्णुहरि सापकोटा लगायत बोर्ड पदाधिकारीहरू र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन वर्ष २०२६ का समुदाय क्षेत्रको कार्यकारिणी उपाध्यक्ष जेसी सुष्मा गुरुङले गर्नुभएको थियो।

युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित देवघाटधाम जेसीजले यस्ता कार्यक्रममार्फत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन निरन्तर योगदान पुर्‍याउँदै आएको छ।


JCI News Archive