कञ्चन जेसिज ले सम्पन्न गर्यो महिला सशक्तिकरण तालिम

2026-03-18


कञ्चन, रुपन्देही (चैत्र ४) — जेसीआई कञ्चन वर्ष २०२६ को आयोजनामा महिला सशक्तिकरणसम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।

जेसीआई कञ्चनका अध्यक्ष जेसी निरोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर प्रमुख अतिथि रहनुभएको थियो। प्रगति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पौडेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

प्रगति नमुना माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा प्रशिक्षक कल्पना पाण्डे (कुसुम), संस्थापक अध्यक्ष चुडामणि पौडेल, पूर्व अध्यक्ष तथा वर्ष २०२६ का राष्ट्रिय तालिम आयुक्त राजन शर्मा पौडेल, निवर्तमान अध्यक्ष प्रकाश उपाध्याय पौडेल, पूर्व अध्यक्ष तथा अध्यक्ष प्रमुख सल्लाहकार जेसी धनपति ज्ञवाली (सन्देश), पूर्व अध्यक्ष राधिका चौधरीलगायतको उपस्थिति रहेको थियो।

कञ्चन गाउँपालिका–१ का विभिन्न महिला समूहका ७५ जना महिलाको सहभागितामा तालिम सञ्चालन गरिएको थियो।

उद्घाटन सत्रमा अमृतबहादुर खड्काले जेसिज आस्था पाठ गरेका थिए भने स्वागत मन्तव्य निवर्तमान अध्यक्ष प्रकाश उपाध्याय पौडेलले व्यक्त गरेका थिए। उनले महिलालाई अवसर, सीप र सही मार्गदर्शन प्रदान गर्न सके उनीहरू समाजमा परिवर्तनका अगुवा बन्न सक्ने उल्लेख गर्दै यस्ता तालिमले आत्मनिर्भरता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

शुभकामना मन्तव्य दिँदै राष्ट्रिय तालिम आयुक्त राजन शर्मा पौडेलले सशक्तिकरण केवल नारामा सीमित नभई व्यवहारमा उतार्नुपर्ने विषय भएको बताए। उनले सीप, आत्मविश्वास र अवसरको उचित संयोजनले मात्र दिगो सशक्तिकरण सम्भव हुने उल्लेख गर्दै महिलाहरूले प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गरी व्यक्तिगत विकाससँगै समाज परिवर्तनमा योगदान दिनुपर्ने धारणा राखे।

त्यसैगरी संस्थापक अध्यक्ष चुडामणि पौडेलले महिला सशक्तिकरणलाई समृद्ध समाज निर्माणको आधार स्तम्भका रूपमा व्याख्या गर्दै महिलाको सहभागिता बिना विकास अधूरो रहने बताए। उनले परिवारदेखि राष्ट्रसम्मको निर्णय प्रक्रियामा महिलाको सक्रिय र समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले चेतना अभिवृद्धि र नेतृत्व विकासमा ठोस टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि मौसमी थापा मगरले महिलाको सशक्तिकरणले नै समग्र समाजको उन्नति सम्भव हुने बताउँदै महिलाहरूलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा सक्षम बनाउनु आजको आवश्यकता भएको उल्लेख गरिन्। उनले जेसिजले समुदायस्तरमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरूको प्रशंसा गर्दै यस्ता तालिमहरूले महिलामा सकारात्मक सोच, आत्मविश्वास र क्षमता विकास गरी उनीहरूलाई स्वावलम्बी तथा नेतृत्वदायी भूमिकामा स्थापित गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरिन्।

कार्यक्रमको सञ्चालन जेसीआई कञ्चनका महासचिव कृष्ण सापकोटाले गरेका थिए।

तालिमले स्थानीय महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

JCI News Archive