देवघाटधाम जेसीजकाे पोसाक तथा स्टेसनरी वितरण कार्यक्रम सम्पन्न

2026-04-28


देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर–१०, चितवन निवासी समाजसेवी गीता राजभाटज्यूको उदार सहयोगमा देवघाट गाउँपालिका–५, तनहुँ स्थित श्री चक्रवर्ती आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई पोसाक तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ।


जेसी अर्जुन सापकोटाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको सभापतित्व देवघाटधाम जेसीज वर्ष २०२६ की कार्यकारिणी उपाध्यक्ष जेसी सुष्मा गुरुङले गर्नुभएको थियो। कार्यक्रममा देवघाट गाउँपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा रहनुभएको थियो र सहयोगी गीता राजभाट विशिष्ट अतिथि हुनुहुन्थ्यो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन सुवेदी, विद्यार्थी, अभिभावक तथा देवघाटधाम जेसीज वर्ष २०२६ का निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल लगायत बोर्ड पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन देवघाटधाम जेसीजकी कोषाध्यक्ष जेसी रक्षा कार्कीले गर्नुभएको थियो।


कार्यक्रममा वक्ताहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोगमूलक कार्यक्रमले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। सहयोगी गीता राजभाटज्यूले शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तर साथ रहने प्रतिबद्धता जनाउनुभयो।


देवघाटधाम जेसीजले दिगो विकासको लक्ष्य अन्तर्गत रहेर गुणस्तरीय शिक्षामा सहयोग गर्ने हेतुले सो कार्यक्रम आयोजना गरेको हो। संस्थाले समुदायस्तरमा शिक्षा, सामाजिक उत्तरदायित्व र बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

JCI News Archive